पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्गस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट) २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदु भन्ने मूल नाराका साथ यही मङसिर २६ र २७ गते दुई दिवसीय रूपमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूका बिच वृहत खेलकुद कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रममा तहगत रूपमा अन्तर्सदनात्मक तथा खुल्ला प्रतिस्पर्धात्मक गरी विभिन्न खेलहरू सम्पन्न भएका थिए । विद्यालयका प्राचार्य डोलराज पाण्डेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि तहगत रूपमा विभिन्न खेलका खेलकुद संयोजकहरू चयन गरी जिम्मेवारी बाँडिएको थियो । कार्यक्रमको पहिलो दिन मङसिर २६ गते बुधवार विद्यालयको खेल मैदानमा नर्सरीदेखि कक्षा ३ सम्म बेलुन ब्लास्ट, म्युजिकल चियर, सियो धागो दौड लगायतका थुप्रै खेलहरू कक्षागत रूपमा सम्पन्न गरिएको थियो भने कक्षा ४ र ५ का छात्रछात्राहरूको ह्याण्ड बल खेल विद्यालयकै खेल मैदानमा सम्पन्न गरिएको थियो । यसैगरी कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूका बिचमा फुटसल खेल फरेष्ट फुटसल खेल मैदानमा सम्पन्न भएका थिए। सोही दिन कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूको एथलेटिक्स अन्तर्गतका १०० मिटर, २०० मिटर, ४०० मिटरका दौडहरूका हिट छनोट चरणका खेलहरू मालेपाटन खेल मैदानमा सम्पन्न गरिए।
कार्यक्रमको दोस्रो दिन मङसिर २७ गते विहीवार कक्षा ४ र ५ का छात्रछात्राहरूका लागि चम्चा दौड, बेलुन ब्लास्ट खेलहरू लगायत कक्षा ६ र ७ का छात्रछात्राहरूका लागि मेमोरी गेम जस्ता विभिन्न खेलहरू मालेपाटन खेलमैदानमा सम्पन्न भएका थिए । यसैगरी सोही दिन कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरूका लागि टग अफ वार (डोरी तानी) खेलका साथै कक्षा ८ देखि १० सम्मका छात्रछात्राहरूका लागि बास्केटबलका खेलहरू मालेपाटन खेल मैदानमा सम्पन्न गरिएको थियो ।
कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूको एथलेटिक्स अन्तर्गतका विभिन्न दौडहरूको फाइनल खेलका साथै कक्षा ११ र १२ का छात्रछात्राहरूको ुस्पोर्ट मिटु कार्यक्रम पोखरा रङ्गशाला खेल मैदानमा सञ्चालन हुने र सोही खेलबहरूको समापनसँगै विभिन्न खेलहरूमा विजयी छात्रछात्राहरूलाई पुरस्कार तथा मेडल वितरण कार्यक्रम सञ्चालन गरिने कुरा विद्यालयका भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठले जनाए ।





