आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकी विद्यालयमा गोलीकाण्ड : महिला संलग्न हुनु दुर्लभ

अमेरिकी विद्यालयमा गोलीकाण्ड : महिला संलग्न हुनु दुर्लभ

महिलाहरू सामूहिक गोलीकान्डमा संलग्न भएको खासै पाइदैन । अझ त्यसमा महिला हमलाकारीले विद्यालयमा आक्रमण गर्नु अझ कम हुने घटनामा पर्छन् ।


  • बीबीसी
  • पुष २ २०८१, मंगलबार

अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने ६ जना घाइते भएका छन् ।
म्याडिसनका प्रहरी प्रमुख सन बार्न्सले हमलाकारी १५ वर्षीया किशोरी रहेको बताए ।
अधिकारीहरूले ती आक्रमणकारी गोली चलाउनुअघि अबन्डेन्ट लाइफ क्रिश्चन स्कुलमा उपस्थित रहेको र उनको शव घटनास्थलमा नै फेला परेको बताएका छन् । घाइते ६ जना विद्यार्थीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
‘आजको दिन म्याडिशनका लागि मात्र नभएर हाम्रो देशकै लागि दुःखको दिन हो,’ प्रमुख बान्र्सले भने । उनका अनुसार प्रहरीले गोली प्रहार गर्नुको उद्देश्य पत्ता लगाउन सकेको छैन र हमलामा संलग्न रहेको ठानिएका व्यक्तिका परिवारले प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन् ।

प्रहरी अनुसन्धान कहाँ पुग्यो ?
अधिकारीहरूले क्रिश्चन स्कुलमा एक बन्दुक हमलाकारी रहेको खबर ९११ टेलिफोन नम्बरमा आएको जानकारी मार्फत पाएका थिए । स्थानीय समय अनुसार ११ बजे उनीहरूले त्यसमा प्रतिक्रिया जनाएका थिए । हमलाकारी गोलीकान्डअघि उक्त विद्यालयमा नै अध्ययन गर्ने गरेको प्रहरी प्रमुख बान्र्सले बताए । उक्त गोली प्रहारको घटना एक ठाउँमा नै सीमित रहेको थियो तर त्यो कक्षा कोठामा थियो वा ‘हल–वे’मा थियो प्रस्ट भइसकेको छैन ।
उक्त विद्यालयकी सम्पर्क निर्देशक बार्बरा विअर्सले विद्यालयले यसै वर्ष सक्रिय बन्दुक हमलाकारीसँग जुझ्नेबारे एउटा तालिम आयोजना गरेको र सोमबारको घटना हुँदा त्यसलाई शिक्षकहरूले व्यवहारमा लागु गर्न सकेको बताइन् ।
उनका अनुसार विद्यालयमा निश्चित प्रहरी अधिकारी तोकिएको छैन । त्यस्ता अधिकारीलाई विद्यालय स्रोत व्यक्ति भन्ने गरिन्छ । तर विद्यालयका सबै कक्षा कोठाहरू स्वचालित ढङ्गले बन्द हुन्छन् र परिसरमा प्रवेश गर्न चाहने व्यक्तिले घण्टी बजाएर प्रमुख द्वारबाट भित्र जानुपर्छ । हमलाको समयमा कक्षामा पढाइरहेकी विअर्सले विद्यार्थीहरूले उक्त परिस्थितिको ‘गज्जब’ले सामना गरेको बताइन् ।
‘उनीहरू प्रस्ट रूपमा डराएका थिए । जब उनीहरूले ‘लकडाउन,’ ‘लकडाउन’ बाहेक केही पनि सुनेनन्, उनीहरूलाई थाहा थियो कि यो वास्तविक हो ।’
प्रहरी प्रमुख बान्र्सले हमलकारीको नाम नाटाली रुपनाउ भएको र उनी समान्था पनि भनेर चिनिने जनाए । आफैँले प्रहार गरेको गोलीको चोटबाट उनको मृत्यु भएको विश्वास गरिएको प्रहरीको भनाइ छ । बान्र्सले कक्षा दुईमा पढ्ने एक विद्यार्थीले पहिलो पटक हमलाबारे जानकारी दिँदै फोन गरेको बताए ।

गोलीकान्डमा महिला संलग्न हुनु दुर्लभ
प्रहरीले आफूहरू घटनास्थलमा पुग्दा हमलाकारी मृत अवस्थामा फेला पारेको जनाएका छन् । हमलाकारीको साथबाट ‘ह्यन्ड गन’ फेला परेको छ । कुनै पनि सुरक्षा अधिकारीले गोली नचलाएको प्रहरीको भनाइ छ । अधिकारीहरूले उक्त आक्रमण देख्ने वा त्यसबारे सुन्ने व्यक्तिहरूलाई प्रहरीसँग आएर कुरा गर्न अनुरोध गरेका छन् । त्यसबाट हमलाकारीको उद्देश्य थाहा हुनसक्ने उनीहरूको अपेक्षा छ ।
‘हामी हतारमा यो काम गर्न चाहँदैनौँ । हामी विद्यार्थीहरूलाई पनि सोध्छौँ । तर हामी उनीहरू तयार भएपछि हामी समक्ष आएर कुरा गर्ने अवसर दिन चाहन्छौँ ।’ उनले उक्त भवनका ‘प्रत्येक बालबालिका पीडित भएको र सधैँ पीडित नै भइरहने’ बताए ।
घटनास्थलमा अग्नि नियन्त्रण टोलीसहित १५ वटा एम्बुलेन्स पनि पुगेका थिए । एफबीआई र अन्य संघीय र स्थानीय कानुन कार्यान्वयन निकायका अधिकारीहरू पनि हाइस्कूलसम्म अध्यापन हुने ४०० जना विद्यार्थी रहेको उक्त विद्यालयमा आपत्कालीन उद्धारमा खटिएका थिए ।
विस्कन्सिनका गभर्नरले आफूले परिस्थिति नजिकबाट अनुगमन गरिरहेको र सबैका लागि प्रार्थना गरिरहेको बताएका छन् । राज्यका भवनहरूमा झन्डा आधा झुकाउन भनिएको छ ।
राष्ट्रपति जो बाइडनले गोलीकान्ड ‘स्तब्ध तुल्याउने खालको र औचित्यहीन भएको’ टिप्पणी गरेका छन् ।
अमेरिकामा गोलीकान्डहरू बेला बेलामा भइराख्छन् र विद्यालयहरूले पनि त्यसको मार खेप्ने गरेका पाइन्छ ।
के–१२ भायोलेन्स प्रोजेक्ट नामक एउटा गैरनाफामुलक अनुसन्धान अभियानले यो वर्ष मात्र ३०० भन्दा बढी गोलीकान्डका घटना भएको गणना गरेको छ । यसमा बन्दुक प्रदर्शन गरिएका वा गोली प्रहार गरिएका र विद्यालयको सम्पत्तिमा गोली प्रहार गरिएका घटना समावेश छन् ।
एजुकेशन विक नामक समाचार संस्थाका अनुसार यस वर्ष अमेरिकामा यो वर्ष ३८ वटा गोलीकान्डमा विद्यार्थीहरूको मृत्यु भएको वा घाइते भएका घटना भएका छन् ।
महिलाहरू सामूहिक गोलीकान्डमा संलग्न भएको खासै पाइदैन । अझ त्यसमा महिला हमलाकारीले विद्यालयमा आक्रमण गर्नु अझ कम हुने घटनामा पर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->