आवरण र वास्तविकताः यी दुईबीच मस्कोमा निरन्तर संघर्ष हुने गर्छ ।
विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ । तर यहाँको जनजीवन एकदमै सामान्य देखिन सक्छ । मेट्रोमा हुने यात्रुको भिडदेखि बार र क्लबमा जम्मा हुने मस्कोका युवाहरूमा युद्धका कारण खासै प्रभाव परे जस्तो देखिँदैन । तर अकस्मात् कुनै घटना हुन्छ र त्यसले आज रुसमा केही कुरा पनि सामान्य छैन भन्ने सम्झना गराउँछ ।
त्यो घटना मस्कोको हवाई प्रतिरक्षा प्रणाली नाघेर युक्रेनी ड्रोन आइपुग्नु पनि हुन सक्छ । अथवा मंगलबार बिहान रुसका एक वरिष्ठ सैन्य जेनरललाई आफ्नो निवासबाहिर निस्किँदै गर्दा योजनाबद्ध ढङ्गले हत्या गरिए जस्तो अझ नाटकीय घटना पनि हुन सक्छ ।
वरिष्ठ सैन्य अधिकारीको हत्याले रुसलाई कस्तो सन्देश
लेफ्टिनेन्ट जेनरल किरिलोफ र उनका एक सहयोगीको ‘स्कूटर बम’ विस्फोटन गराएर भएको हत्यापछि युक्रेनसँगको रुसको युद्धको वास्तविकता उसकै आँगनमा देखा प¥यो । कम्तीमा घटनास्थलनजिकै रहेका रुसीहरूका लागि ।
‘समाचारमा पढ्दा त्यो एउटा खालको कुरा हो । टाढा भइरहेको जस्तो महसुस हुन्छ । तर आफ्नै घरको छेउमा हुँदा यो पूर्णतया अलग र डरलाग्दो हुन्छ,’ लीजाले मसँग भनिन् । उनी विस्फोटन भएको ठाउँबाट एउटा भवन पर बस्छिन् ।
‘अहिलेसम्म (युद्ध) धेरै पर भइरहेको जस्तो महसुस हुन्थ्यो । तर यहाँ कसैको मृत्यु भएको छ । तपाईँले परिणाम महसुस गर्न सक्नुहुन्छ ।’
‘मेरा चिन्ता धेरै बढेको छ । तपाईँले सुन्ने प्रत्येक आवाजले चिन्ता थप्छ । त्यो कुनै ड्रोन हो वा निर्माणस्थलमा भइरहेको काम हो भनेर तपाईँ अलमलमा पर्नुहुन्छ ।’
युक्रेनसँगको युद्धलाई टाढा भइरहेको घटनाका रूपमा यहाँ हेरिने गरेको पाइन्छ ।
जनसंख्याको उल्लेख्य हिस्साका लागि यो उनीहरूले आफ्नो टेलिभिजन वा स्मार्टफोनमा मात्रै महसुस गर्ने एउटा लडाइँ हो। एक ढङ्गले भन्दा, यो ‘भर्चूअल युद्ध’ हो ।
ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएका र चोटपटक व्यहोरेको वास्तविकतामाझ त्यो साँच्चिकै आश्चर्यजनक हो । तर मस्कोमा रुसी जेनरलको हत्या एउटा खतराको घण्टी हो । युद्ध वास्तविकता भएको र घरकै छेउमा चलिरहेको प्रमाण हो ।
रुसले अब के गर्ला
तर के यसले रुसी अधिकारीहरूले सावधान गराउने सामथ्र्य राख्छ ?
सम्भवतः राख्दैन । क्रेम्लिनले यूक्रेनको मामिलामा आफ्नो नीति परिवर्तन गर्ने खासै संकेत छैन । मस्कोले युद्धलाई अझै तीव्रता दिने सम्भावना अधिक छ ।
किरिलोफको हत्यापछि रुसी सरकारी सञ्चारमाध्यमको राजनीतिक कार्यक्रमका प्रस्तोताले हमलालाई लिएर युक्रेनमाथि आरोप लगाउँदै ‘यो आक्रमणसँगै राष्ट्रपति जेलेन्स्कीले आफ्नो मृत्युदण्डमा हस्ताक्षर गरेको’ बताए । भूतपूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेबले ‘अनुसन्धानकर्ताहरूले रुसमा हत्याराहरू फेला पार्नुपर्ने’ बताए । ‘हामीले किएभमा रहेका उनीहरूका संरक्षकहरूलाई नष्ट पार्न सबै थोक गर्नुपर्छ,’ उनले भने ।
राष्ट्रपति भ्लादिमिर पुटिनबाट जेनरल र उनका सहयोगीको हत्यालाई लिएर कुनै सार्वजनिक प्रतिक्रिया आएका छैनन् । तर क्रेम्लिनका नेताले विगतमा धेरै पटक ‘सुरक्षा जोखिम उत्पन्न भएको खण्डमा रुसले सधैँ प्रतिक्रिया जनाउने’ बताएका छन् । उक्त घोषणाकै आधारमा पनि जबाफी कारबाहीको सम्भावना छ ।
बिहीबार क्रेम्लिनका नेताले आफ्नो वार्षिक पत्रकार सम्मेलन र फोन–इन आयोजना गर्दै छन् । साधरणतया सबै टेलिभिजन च्यानलहरूले त्यसको प्रत्यक्ष प्रसारण गर्छन् ।
के पुटिनले उक्त कार्यक्रमलाई किरिलोफको नाटकीय हत्याबारे प्रतिक्रिया दिन प्रयोग गर्लान् ? के उनले सिरियासँग सम्बन्धित विषयबारे पनि मुख खोल्लान् ? रुसी राष्ट्रपतिले अहिलेसम्म सार्वजनिक रूपमा मध्यपूर्वमा मस्कोका मुख्य साझेदार रहेका बशर अल–असदको पतनबारे केही पनि बोलेका छैनन् ।
अनि उनले रुसी नागरिकहरूलाई आफूले ‘विशेष सैन्य कारबाही’ भन्ने गरेको युक्रेनसँगको युद्ध तीन वर्ष पुग्न लाग्दा देश कुन दिशातर्फ अग्रसर भइरहेको छ भन्नेबारे के भन्लान् ?
–स्टीभ रोजन्बर्ग/बीबीसी





