पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उक्त अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताए । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको बताउँदै थप ५ लाख रुपैयाँ सहयोग गर्ने उनको भनाई थियो । खेलाडी राष्ट्रका गहना भएकाले राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्ने मन्त्री थापाले बताए ।
सो अवसरमा बोल्दै खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालमा सञ्चालित विभिन्न प्रतियोगिताहरुमध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगिता मध्य एक भएको बताउँदै यसले आगामी दिनहरुमा निरन्तरता पाउनुपर्नेमा जोड दिए । संघका अध्यक्ष राजकुमार गुरुङ्गले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगीहरुबाट संघले यस्तै अपेक्षा राखेको बताए । आयोजक संघका उपाध्यक्ष नविन चालिसेले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताउँदै यो खेललाई अगाडी बढाउन अब सरकारी सहयोगको पनि खाँचो रहेको औल्याए ।
सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रम हालै बहराइनमा सम्पन्न डेभिज कपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुर्याउने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो ।त्यसैगरि पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ्ग, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लीज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठ लगायतलाई सम्मान गरियो ।
यसैविच प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिङ्गलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले, शास्वत बज्राचार्यले नविन पाइजालाई ७–५,६–४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०,६–२ ले पराजित गरे । आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए । ४५ वर्ष माथिको मेन्स सिङ्गलमा विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुङ्गानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे । त्यसैगरी मेन्स ३५ वर्षमाथिको सिङ्गलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा.मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।





