पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्दै स्वस्थ नागरिक नै समृद्धिको प्रमुख आधार भएको बताए । यसैले नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कास्कीका सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेदिक चिकित्सा पद्दतिलाइ प्रभाबकारी बनाउनुपर्ने उनले उल्लेख गरे । शारीरिक, मानसिक, भावना र सामाजिक स्वास्थ्य स्वस्थ्य जीबनका आधार परिष्कृत गराउन कार्यक्रम फलदायी भएको पौडेलले बताए ।
कार्यक्रममा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्वेद चिकित्सा पद्धतिको बारेमा गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शंकर गौतमले अबधारणापत्र पेश गरेका थिए । सोहि अस्पतालका डाक्टर रामकृष्ण भुजेलले स्वास्थ्य जीवनको लागि योगाको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा जेष्ठ नागरिक मंच पोखरा–१७ का टोपराज ढुंगानाले वडास्तरमा नागरिक आरोग्य समिति गठन भए पनि प्रभाबकारी काम हुन नसकेको भन्दै वडावडामा प्रभाबकारी कामका लागि थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्साल, जीबन बिज्ञान प्रशिक्षक शिक्षा बिकास केन्द्र गण्डकी प्रदेश संयोजक शंकर पोखरेल, सोही केन्द्रका प्रशिक्षक बासुदेब पौडेल सहितले सम्बन्धित विषयमा चर्चा गरेका थिए । कार्यक्रममा कास्कीका पालिकाहरूका स्थानिय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।





