पोखरा/ कोरियाली सरकारको तर्फबाट कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहायता अनुदानमा गण्डकी प्राविधिक शिक्षालयको पुर्वाधार विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) को आवासीय तथा प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शिलन्यास गरेका छन । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–१ गुर्धुममा नेपाल सरकारले उपलब्ध गराएको १६० रोपनी जग्गामा शिक्षालय बन्दै छ ।

परियोजना अन्तर्गत गण्डकी प्रदेश सरकार र कोइकाबीच करिव ९ मिलियन अमेरिकी डलरको सहायता अनुदान उपलब्ध गराउने विषयमा शुक्रबारनै सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि फेदीखोलामा आयोजित कार्यक्रममा मुख्ममन्त्रीले उक्त भवनको शिलन्यास गरेका हुन । शिलन्यास गर्दै मुख्यमन्त्री पाण्डेले कोइकाले नेपाली १ अर्ब २३ करोड रुपैयाँ सहयोग गरेकोमा कोरियाली सरकारलाई गण्डकी प्रदेश सरकार र प्रदेशवासीको तर्फबाट धन्यवाद ज्ञापन गरे । साथै सरकारले लिएको लक्ष्य र उद्देश्य पुरा गर्न गराउनमा कोईकाले उपलब्ध गराएको यो सहयोग महत्वपूर्ण सावित हुने बताए । गण्डकी प्रदेश सरकार र कोईका विचको यो सहकार्यले नेपाल र गणतन्त्र कोरिया वीचको सम्बन्ध अझै मजवुत भएको उनको भनाई थियो । कोईकासँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वाश सहित प्रदेश सरकारकालागि कोईकाबाट यो सहयोग ल्याउन प्रत्यन्त गर्नुहुने सबैलाई उनले धन्यवाद दिए । प्राविधिक शिक्षामार्फत दक्ष तथा व्यवसायीक जनशक्ति तयार गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक प्रतिष्ठानको गठन गरेको हो । परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्।





