लमजुङ/ लमजुङका पत्रकार आश गुरुङ (आशबहादुर गुरुङ) को गीत गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा समेटिएको छ । गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो । ‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः विदेश रहेकालाई गाउँ फर्किन प्रेरित गरेको छ । गुरुङ फिल्ममा यसअघि विदेश नजान भन्दै गीतहरु निर्माण गरिए पनि यो गीत भने विदेश गएकालाई गाउँ फर्कन आग्रह गरिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले संगीत संयोजन गरेको यो गीतमा राजबहादुर गुरुङले आवाज दिएका छन् । पिटर गुरुङले छायांकन गरेको यो भिडियोलाई ज्योति प्रोडक्सन प्रालिमा विष्णुहरि तिमिल्सिनाले सम्पादन गरेका छन् । कास्कीको मादी गाउँपालिका १०, भाचोकमा छायांकन गरिएको फिल्म पुर्खाको थलोलाई फिल्मका लेखक समेत रहेका ओमप्रकाश गुरुङले निर्देशन गरेका छन् ।कुबिना गुरुङ, दिल घले, उत्तरबहादुर गुरुङ, खिम कुमारी गुरुङ, जोग माया गुरुङ निर्माता रहेको यो फिल्म केही महिनाभित्रै प्रदर्शन ल्याउने तयारी गरिएको छ । तमू ल्होसारको अवसरमा भिडियोसहितको यो गीत रोधि प्लस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म पुर्खाको थलोमा गणेशमान गुरुङ, लक्ष्मी गुरुङ, डिबी गुरुङ, लालशोभा गुरुङ, ओम गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, राजेन्द्र अधिकारी, खिमकुमारी गुरुङ, जोगमाया गुरुङ, गम गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् । कान्तिपुरका पत्रकार गुरुङले यसअघि गुरुङ फिल्म नानु, मैंरिमो, टुकी, मि न्होंर्बे टलगायत फिल्म तथा म्युजिक भिडियो साथै गाउँ चिनारी गीत लेखेका छन् ।





