काठमाडौँ/ दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल बुधवार बिहान पक्राउ परेका छन्। उनलाई सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।
डिसेम्बर ३ मा युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको थियो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनकै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए । उनको महाभियोगबारे अन्तिम निर्णय संवैधानिक अदालतले गर्न बाँकी छ।
दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको घटना यो पहिलो हो । युनलाई यसअघि पत्राउ गर्न खोजिए पनि सुरक्षाकर्मीको प्रयास असफल भएको थियो । राष्ट्रपतिको सुरक्षा सेवा (पिएसएस) का सुरक्षाकर्मी र उनका समर्थकहरुले अवरोध गरेपछि यसअघि पक्राउको प्रयास असफल भएको थियो । बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए । भ्रष्टाचार अनुसन्धान कार्यालयले सोधपुछका लागि पटक(पटक बोलाउँदा उपस्थित नभएपछि युनविरूद्ध पश्चिमी सोल जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । पक्राउपछि उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले सोधपुछ गरिरहेका बीबीसीले जनाएको छ ।





