आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन १४ देखि

तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन १४ देखि


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ धम्पुसको व्यवस्थापन र गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि बढीभन्दा बढी सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी टीमले २ जना बाहिरी खेलाडी राख्ने पाउने व्यवस्था मिलाइएको छ । ‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जानउने छन्’ अध्यक्ष गुरुङले भने, ‘राष्ट्रिय खेलाडीको सहभागिता हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने विश्वास लिएका छौ ।’

यस वर्षदेखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । ‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’, अधिकारीले भनिन्, ‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटनसँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने छ ।’ माछापुच्छ्रे वडा नम्बर ७ का अध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना सुनाए । उनका अनुसार एक रातमा धम्पुसका साना ठुला ४० होटलमा १ हजार सम्म राख्न सकिनेछ । प्रतियोगिता सहभागी टीमलाई निशुल्क दर्ताको व्यवस्था मिलाइएको गाउँपालिका खेलकुद विकास समितिका सदस्यसचिव हुमबहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशभित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुँदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडीबाटै आउने गरेको बताए । गत वर्ष सम्पन्न दोस्रो माछापुच्छ्रे अध्यक्ष कपको पुरुष भलिबलतर्फ बौदीकाली गाँउपालिका नवलपुर प्रथम र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->