बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीद्धारा ढिलाई भएका योजनाको अनुगमन, चाडो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीद्धारा ढिलाई भएका योजनाको अनुगमन, चाडो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

दुलेगौंडा (तनहुँ)/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गत दुलेगौंडा हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदिमाथि निर्मित मोटरेबल पुलको बुधवार अनुगमन गरेका हुन् ।

सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए । गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका उनले सरकारको तर्फबाट कुनै समस्या भए सहजिकरण गर्न तयार रहेको बताउदै तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गरे ।

२०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर (१०.१८) किलोमिटर सडक कालोपत्रका लागि २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो । २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडक पटकपटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले बताए । उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा सम्पन्न गर्नेगरी सम्झौता गरेको हो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नती सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहुँदा स्थानीवासीले चुनावको बेलामात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् ।

स्थानीय एवम् दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराए । निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिकरुपमा नोक्सान परेको बताउदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीले ध्यानाकर्षण गराए । शुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते भएकोमा २०८२ मंसिर २० सम्म म्याद थप भएको छ । कामको प्रगति करिव ३० प्रतिशत मात्र छ । २०७७ मंसिर २४ मा मुल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपैयामा पुल निर्माणकालागि महाविर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो । टायल फाउण्डेसनमा निर्माण हुने पुल १ सय ५०.४ मिटर लामो रहने छ । ४ वटा स्पानमध्य हाल एक स्पान मात्र ढलान भएको छ । निर्माण कम्पनीलाई हालसम्म ८ करोड १३ लाख भुक्तानी भइसकेको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयकोतर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे । उनका अनुसार वडा नंं. ८ तर्फ ३ वटासम्म स्पान थप भएमा ४०.२५ प्रतिशत अर्थात ६ करोड २७ लाख रुपैया बजेट थप गर्नुपर्ने देखिएको छ । स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिदा वडा नं. ८ तर्फ कटान बढ्दै गएको बताए । उनले स्थानीय स्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आएपनि कामले गति लिन नसकेको उल्लेख गरे ।

मन्त्री केसीले मन्त्रालय अन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताए । समयमै विकास निर्माणका योजना सम्पन्न नहुदा जनताले दुःख पाउने गरेको बताउदै शुरु भएका योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->