बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा आएको छ । पुस्तकालयको ७८ औ स्थपना दिवसको अवसर पारेर आईतवार पुस्तकालयको उद्घाटन गरिएको हो ।
विभिन्न दाताको सहयोगमा बालबालिकाको लागि मात्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गरे ।
सो अवसरमा बोल्दै उनले बालमैत्री शुसासनयुक्त नगरपालिकाको दिगोपनाका लागि बालपुस्तकालयले सहयोग पु¥याउने बताए । बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि नगरपालिका लागिपरेको चर्चा गर्दै उनले पुस्तकालयको संरक्षण र विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बालबालिकाको भविष्य निर्माणका लागि पुस्तकालय महत्वपुर्ण हुने भएकाले पुस्तकालयलाई दिगोपन दिनुपर्ने बताए । पुस्तकालयको इतिहास र गतिविधीवारे पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी गराएका थिए ।
पुस्तकालय भवनको छुट्टै कक्षमा बाल पुस्तकालय निर्माण गरेर संचालनमा ल्याएको पुस्तकालयका अध्यक्ष अध्यक्ष राम थापा अविरलले जानकारी दिए । बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन संस्कृतिको विकास र बौद्धिक जागरण ल्याउने ध्येयले बाल पुस्तकालय सञ्चालन गरिएको थापाले बताए ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजन कुमार शर्माको संचालनमा सम्पन्न भएको थियो ।




