बागलुङ/गण्डकी प्रदेशकी सांसद चम्पादेवी खड्काले गुणस्तरीय शिक्षा दिन सकेमा बालबालिकाको भविष्य उच्च हुने बताएकी छिन् । उनले स्वदेशमा केही गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्न पनि शिक्षकहरुलाई आग्रह गरिन् ।
रुद्रे पिपल माबिको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवशको उद्घाटन गर्दे खड्काले बालमैत्री वातावरणमा विद्यालयमा पढाइ संचालन गर्नुपर्ने धारणा राखिन् । पछिल्लो समय बालमैत्री अभियान संचालनमा छ । त्यस बाहेक बालबालिकाले विद्यालयमै रमाउने वातावरण बनाउनुपर्ने समेत उनले बताइन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय बागलुङका प्रमुख हिमाल घर्तीले सामाजिक बिकास कार्यालयले पनि बिद्यालयको भवन निर्माण र सामाजिक वातावरण निर्माणमा साथ दिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोराको अध्यक्षता, शिक्षक तारकराज पराजुली र सागर पौडेलको संचालन तथा प्रकाश शर्मा आर्चाको स्वागतमा सम्पन्न वार्षिकोत्सव मुल समारोहमा पूर्व प्रअ ममतदेवी शर्मा, धनदुर्गा स्मृति छात्रवृत्ति कोषका संस्थापक दिलबहादुर केसी, विद्यालयका पूर्व पदाधिकारी, सामाजिक अगुवा समेतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा विद्यालयले धनदुर्गा स्मृति कोष र कृष्ण कंडेल स्मृति कोषबाट दुइ दर्जन बढी विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा भएका अतिरिक्त क्रियाकलाप र खेलकुँद प्रतियोगितामा पुरस्कृत विद्यार्थीलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो ।




