सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्वविद्यालय संभावनाको खोजी गर्ने स्थल : त्रिवि रजिष्ट्रार रिजाल

विश्वविद्यालय संभावनाको खोजी गर्ने स्थल : त्रिवि रजिष्ट्रार रिजाल


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार

बागलुङ÷धौलागिरि बहुमुखी क्याम्पसको ६२ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरेर सम्पन्न भएको छ । श्रीपंचमीको दिन सोमबार मुल समारोहसहित वार्षिकोत्सव सम्पन्न भएको हो ।
सोमबार भएको मुल समारोहमा त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा केदारप्रसाद रिजालले विश्वविद्यालय संभावनाको खोजी गर्ने स्थल भएको बताउँदै मोफसलका क्याम्पसले पनि देशलाई नेतृत्व गर्न सक्ने बताए । धौलागिरि बहुमुखी क्याम्पसको परिक्षाफलले निरन्तर उत्कृष्ठता कायम गरेकोले उक्त संभावना रहेको रिजालले बताए ।
उनले सयौं वर्षपछिको आबस्यकता हेर्न सक्ने विश्वविद्यालयको शिक्षा बनाउन पहल गर्ने पनि उनले बताए । ‘जसरी ६२ वर्षअघि धौलागिरि बहुमुखी क्याम्पस खोल्ने समुदायले अहिलेको आवस्यकता देखेको थियो, सय वर्ष पछिको आवस्यकता देख्ने गरी काम अहिले नै गर्नुपर्छ’ रिजालले भने, ‘यो देशमै संभावना छ भन्ने सन्देश शिक्षा नीतिले दिन सक्नुपर्छ ।’ त्रिभूवन विश्वविद्यालयले संचालन गर्ने कार्यक्रम र संकायले पनि आम नागरिकमा संभावना देखाउन सक्नुपर्ने उनले बताए ।
कार्यक्रममा उनले विश्वविद्यालयको श्रोत र साधन समुचित रुपमा बितरण गर्ने र सकारात्मक बिभेदको नीति कायम गरेर मोफसलका क्याम्पसमा केही परिवर्तन ल्याउन पहल गर्ने बताए । साथै स्थानीय जनताको हातेमालोमा ग्रामीण क्षेत्रका शिक्षण संस्थाको गुणस्तर बढाउने काम गर्ने पनि उनले प्रतिबद्दता जनाए ।
कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका प्रमुखप्रा. डा हरिप्रसाद पाठक, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिकी सहसचिव ज्ञानु श्रीष शर्मा, एमालेका उपसचिव धनबहादुर परियार, नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष निर्मल श्रेष्ठ, मानवता पाटीका जिल्ला अध्यक्ष भक्तबहादुर बिकले क्याम्पसको वार्षिकोत्सवको अबसरमा सफलताको शुभकामना दिए ।
क्याम्पस संचकलक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता, उपप्राध्यापकहरु हिरालाल रेग्मी र हरिप्रसाद पाण्डेयको संचालन तथा क्यामपस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालको स्वागतमा सम्पन्न कार्यक्रममा स्ववियु सभापति सुदिप सागर कंडेल, त्रिवि प्राध्यापक संघका सभापति भक्तीराम न्यौपाने, त्रिवि कर्मचारी संघका अध्यक्ष शिवराज पन्त, नेपाल पत्रकार महासंघका सदस्य संगम घर्तीमगर, नेविसंघका जिल्ला अध्यक्ष बिशेष पराजुली, अनेरास्ववियुका क्याम्पस इकाइ अध्यक्ष बिनोद कार्की, अखिल क्रान्तिकारीका अध्यक्ष प्रदिप थापा, अखिल छैठौंकी रेशा शर्मा, अखिल क्रान्तिकारी बहुमतका दिवश खड्का, अखिल क्रान्तिकारी बिप्लब समूहका सुदन बिकले पनि मन्तव्य राखेका थिए ।
उक्त अबसरमा सेवानिवृत्त कर्मचारी शिवकुमार श्रेष्ठ, जेष्ठताको आधारमा प्राध्यापकतर्फ समाजशाष्त्र विभागका प्रमुख उपप्राध्यापक विश्वबन्धु अधिकारी र कर्मचारीतर्फ लक्ष्मी जैसी, कार्यसम्पादनको तर्फबाट उपप्राध्यापक तिलक कंडेल र कर्मचारीमा कल्पना शर्मा सम्मानित भए ।
वार्षिकोत्सवको अबसरमा आयोजित विभिन्न खेलकुदका बिजयी खेलाडी, अतिरिक्त क्रियाकलापका उत्कृष्ठ खेलाडीलाई पनि सम्मान र पुरस्कार प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अबसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी नेपाल पत्रकार महासंघको टिमलाई पनि पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
२०१९ सालमा रात्रीकालिन क्यामपसको रुपमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पस अहिले स्नातकोत्तर तह सम्मको पढाइ हुने धौलागिरि क्षेत्रकै एकमात्र त्रिविको आंगिक क्याम्पस हो । हाल यहाँ बिज्ञान संकाय र बिबिएतर्फ नेपाल र गण्डकी प्रदेशमा उत्कृष्ठ बन्दै आएको छ भने गतवर्ष विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पनि पाइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->