पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थिरता भइरहेको अवस्थालायृ दुष्टिगत गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएकाले अविश्वसा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्य प्रतिष्पर्धी एमाले भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।
आफु र प्रधानमन्त्री केपी शर्मा ओली सँगै जेलमा बसेको साथी भएको सभापति देउवाले उल्लेख गरे । ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो’, काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आज आयोजित जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने । ‘हामी मुख्य प्रतिस्पर्धी हौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’
देउवाले एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउन नेता तथा कार्यकतालाई निर्देशन पनि दिए । समावेशी, समानुपातिक व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत आउन नसक्ने अवस्था रहेको भन्दै देउवाले सबै नेता, कार्यकर्ता एकतावद्ध भएमा काँग्रेसले बहुमत प्राप्त गर्न सक्ने संभावना रहेको बताए । ‘एकापसमा कुनै पनि मनमुटाव नराखी एकताबद्ध भएर पार्टीको संगठन बनाउन लाग्नका लागि निर्देशन दिन्छु’, देउवाले भने, ‘नेपाल धेरै सम्भावना बोकेको देश भएकाले यसको समग्र विकासका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुुपर्छ ।
पोखरा आँफैंमा सुन्दर स्थान भएको बताउँदै उनले आँफू पोखरामा जेलमा बस्ने क्रममा देखिएको हिउँ सहितको माछापुच्छ्रेमा अहिले हिउँ हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताए । उनले नेता तथा कार्यकर्तामा निराशा नभै आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रुपमा कृयाशिल बन्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए । विपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यवहारिक प्रयोग आवश्यक रहेकोे उनको भनाई थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनेछन । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापति सहित करिब २ सय जनाको सहभागिता रहेको छ ।





