सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्याम्पसमा पढ्ने विद्यार्थी घट्दो दरमा

क्याम्पसमा पढ्ने विद्यार्थी घट्दो दरमा

बजारले मागेको कार्यक्रम थप गरेर भए पनि विद्यार्थी आकर्षित गर्ने योजना ।


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८१, बिहिबार

बागलुङ/सयौं विद्यार्थीको लर्को लाग्ने धौलागिरि बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या दिनदिनै घटेको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकाय त रित्तो बन्ने अवस्थामा पुगिसकेको हो । स्नातक र स्नातकोत्तर तह संचालन भए पनि स्नातक तहमा त वर्षेनी एक सय विद्यार्थी पनि भर्ना नभएका हुन् । भर्ना भएका विद्यार्थी पनि आसपासका विद्यालयका शिक्षकहरु रहेको देखिएको हो । कक्षा १२ पास गरेका विद्यार्थी भने जापानी, कोरियनलगायतको भाषा कक्षामा बढी पुग्ने गरेका छन् ।
भर्ना भएका विद्यार्थीको पनि उत्तीर्ण दर न्यून छ । क्याम्पसले दिएको प्रतिवेदनमा पनि स्नातक तहको मानविकी संकायमा उत्तीर्ण दर ३० प्रतिशत हाराहारी मात्रै छ । शैक्षिक शत्र २०७८ मा ९८ जना भर्ना भएकोमा २०७९ मा ९७ र २०८० मा ८५ जना भर्ना भएका थिए । यहाँ सबैभन्दा धेरै स्थायी प्राध्यापक मानविकी तथा सामाजिक शास्त्र संकायमै छन् ।
इतिहास र राजनीतिक शास्त्र पढाइ हुन छाडेको त दशक भइसक्यो । अहिले पनि यहाँ इतिहास र राजनीतिक शास्त्रका दुई– दुई गरी ४ स्थायी प्राध्यापकले पढाउनै पर्दैन । शिक्षा शास्त्रतर्फ पनि तीन वर्षमा विद्यार्थी संख्या एकसय हाराहारी घटेका छन् । तीन वर्षअघि ५ सय ११ विद्यार्थी भर्ना भएकोमा गतवर्ष ४ सय २२ मात्रै क्याम्पसमा आइपुगेका छन् । यो संकायमा त उत्तीर्ण दर २० प्रतिशत हाराहारी मात्रै छ । यहाँ पनि स्थायी प्राध्यापकहरु धेरै छन् । यो संकायमा ७ जना अस्थायी र मानविकी हेर्ने १० जना स्थायी प्राध्यापक छन् ।
नीजि श्रोतमा आंशिक शिक्षक राखेर पढाइ भइरहेको व्यवस्थापन र विज्ञान संकायमा भने विद्यार्थी आकर्षण बढ्दो छ । परीक्षाफल उत्कृष्ठ बन्दै गएको छ । आंशिक शिक्षक र करारका शिक्षकले छाड्दा यी संकाय बन्द हुने खतरा बढी छ । क्याम्पसकै प्रतिवेदन अनुसार विज्ञान तथा प्रविधि संकायमा १ जना मात्रै स्थायी प्राध्यापक छन् । ११ जना आंशिक र करारको भरमा संकाय संचालनमा छ । धौलागिरि बहुमुखी क्याम्पसले बिबिएमा नेपालमै उत्कृष्ठ स्थान समेत पाउँदै आएको छ । तर। त्यहाँ दुई जनामात्र स्थायी प्राध्यापक छन् ।
क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाको प्रतिवेदनमा भने विद्यार्थीको भर्नादर बढाउने, सिकाइको गुणस्तर र उत्तीर्ण दर वृद्धि गर्ने तथा बीचैमा कक्षा छाड्ने प्रवृत्ति अन्त्य गर्ने उल्लेख छ । अध्यक्षको प्रतिवेदन बिपरित क्याम्पसमा बढ्दो राजनीतिक हस्तक्षेप र सीपयुक्त शिक्षा नभएपछि बीचैमा कक्षा छाड्ने प्रवृत्ति बढेको र नयाँ भर्ना पनि नभएको टिप्पणी भैरहेको छ ।
‘दलीय हस्तक्षेपले शिक्षालाई गिजोलेको छ, विश्वविद्यालयलाई स्वतन्त्र छाड्न नसक्ने हो भने भोलिका दिनमा विद्यार्थी पाइँदैन,’ नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले भने, ‘विद्यार्थीलाई राजनीतिक नेतृत्वमा जाने बाटो बन्धक राखेर प्राध्यापकहरु राजनीतिमा लाग्दा संख्या र गुणस्तर दुवै घटेको छ ।’ नियमित रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्ने काम विश्वविद्यालयले गरेको उनले आरोप लगाए । राजनीतिक दलको कार्यकर्ता बनेर प्राध्यापकहरुले भने धमाधम नियुक्ति खाएको उनले टिप्पणी गरे ।
विश्वविद्यालयले पनि कुन संकायमा के कति जनशक्ति चाहिन्छ भन्ने ओएनएम नगर्ने, बरु वर्षाँैदेखि पढाइ नभएका संकायका प्राध्यापकलाई स्थायी बनाएर राखिरहेको प्राध्यापकहरु नै टिप्पणी गर्छन् । ‘विज्ञान संकायमा प्राध्यापक छैनन्, प्राध्यापक भएका संकायमा विद्यार्थी नै छैनन्,’ व्यवस्थापन संकायका शिक्षक विष्णुप्रसाद चापागाई भन्छन्, ‘यो समानुपात मिलाउन सके पनि गुणस्तर कायम हुने र विद्यार्थी आर्कषण बढाउन सकिन्छ ।’
व्यवस्थापनमा ६९ प्रतिशत विद्यार्थी छन्, तर ५ जनामात्रै स्थायी प्राध्यापक छन् । ‘अहिले पनि २६ जना प्राध्यापकको दरबन्दी खाली छ, त्रिविले पठाएका ४ जना पनि हाजिर गरेर फर्के,’ व्यवस्थापन समूहका पूर्व प्रमुख तथा सहायक क्याम्पस प्रमुख धु्रबराज गौतमले भने, ‘विश्वविद्यालयले हामीलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ ।’ दरबन्दीको असमान वितरणले पढाइमा समस्या भएको उनले बताए । क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले भने बजारले मागेको कार्यक्रम थप गरेर भएपनि विद्यार्थी आर्कषण बढाउने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->