पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।अन्नपूर्ण गाउँपालिका ४ सल्यानचौतारीमा बुधबार शिविर आयोजना भएको हो ।
अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख बिकल अधिकारीले बताए । उनले आगामी दिनहरुमा शिक्षालयले किसान लक्षित कार्यक्रम आयोजना गरिने उल्लेख गरे ।
शिविरमा पशुपक्षिको स्वास्थ्य परिक्षण, औषधि बितरण, गोबर र थुनेलो परिक्षण,रेबिज बिरुद्धको खोप, पशु बन्ध्याकरण लगाएतका सेवा प्रदान गरिएको शिक्षालयका प्रशिक्षक आशिष अधिकारीले जानकारी दिए । शिविरबाट १५ सय पशुपंक्षि र २ सय किसान लाभान्बित भएको पशुप्रशिक्षण सहायक प्रेम अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकामा आयोजना गरिएको पशु स्वास्थ्य शिविरले किसानलाई सहयोग पुगेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशिक्षकद्धोय आशिष बस्यौला, पुरुषोत्तम काफ्ले, वडा ४ का वडा अध्यक्षय आइन्दल गुरुङ लगाएतले भनाई राखेका थिए ।
कार्यक्रममा किसानहरुको लागि काउलि,बन्दा र काक्रोको बेर्ना, बिउ समेत बितरण गरिएको बाली बिज्ञान प्रशिक्षक कैलाश थापाले उल्लेख गरे । ‘कृषि, पर्यटन, उर्जा र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नाराका साथ २०७६ सालमा स्थापना भएको शिक्षालयमा सिटिईभिटिबाट सम्बन्धन प्राप्त गरि कृषि शिक्षा विषयमा अध्ययन हुदै आएको छ ।





