पोखरा/ नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका नेपालीलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाएका छन् । पोखराको दीपस्थित ब्रिटिश क्याम्पमा २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन । हिन्दु धर्मशास्त्र अनुसार स्वस्तिशान्ति मन्त्र बाचनपछि राजकुमार दम्पतीले नेपाली जवानलाई सपथ खुवाएका हुन् । साथै उनले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् ।
विहीबार पोखरा आएका राजकुमार एडवार्ड दम्पत्ति हिजो टाइगर माउन्टेन लजमा बसेका थिए । दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् । उनी आज लुम्ले गाउँको भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र आज चन्द्रकोट गाउँमा बास बस्ने कार्यतालिका छ । निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पति गत मंगलबार काठमाडौं आएका थिए । उनीहरु आगामी आइतबार स्वदेश फर्किने छन् ।





