पोखरा/कास्कीको माछापुच्छे« गाउँपालिका ३, घाचोककी सोविता परियार बल्ल २८ मा चल्दैछन् । माइती सम्पन्न थिएनन् । बेलैमा कसैको जिम्मा लगाएपछि उसैले पाल्ला,सुख पाउली भनेर आमाबुबाले सानैमा छोरी अन्माइदिए । अहिले सोविताको ११ वर्षीया छोरा छन् । तर, दुर्भाग्य ! तीन वर्षअघि उनलाई एक्कासी उच्च रक्तचापले हान्यो । उपचारको क्रममा मृगौलामा खराबी देखियो । त्यसपछि त के थियो ! दुःखका दिन सुरु भए । श्रीमानले छाडे । उनी बेसहासा बनिन् ।
गण्डकी मेडिकल कलेजका मृगौला रोग टेक्निसियन डा.राकेश झाका अनुसार सोविता डायलासिस गराउन आउँदा पनि एक्लै आउँथिन् ।
‘अर्को साथी ल्याउँदा बस भाडा, खाजा खर्च ब्यहोर्न पर्ने रहेछ, सोवितासँग त्यो पनि रहेनछ । कहिले दाजुभाइकहाँ,कहिले माइतमा बस्ने उनी बेसहरा हुन्,’उनले भने,‘ डायलासिस गर्दा खुट्टा बाउँडिने,थप रगत दिनुपर्ने र कहिलेकाहिँ अक्सिजनसमेत लगानुपर्ने हुन्छ । ४ घण्टासम्म एक्लै बस्न साह्रै गाह्रो हुन्छ तर उनले सब सहेकी छन् ।’
सोविताको दुःख देखेपछि लक्ष्मीसुन्दरी कर्माचार्य मृगौलापीडित सहयोग कोषले यो वर्ष उनै सोवितालाई सहयोग गर्ने निर्णय ग¥यो । गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक र अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यसहितले १ लाख १ हजार सहयोग प्रदान गर्दा सोविता भक्कानिइन् ।
गण्डकीमा डायलासिसको लागि पालो कुर्दै बिरामीहरु
स्वास्थ्यमन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा अहिले ९ सय १७ जना मृगौलापीडितहरु डायलासिस गराउनुपर्ने अवस्थामा छन् । तीमध्ये ८ सय १० जनाको डायलासिस भएको छ भने १०७ जना अझै पर्खाइमा छन् । डायलासिस गर्ने उपकरण तथा जनशक्तिको कमीले यो अवस्था आएको हो । केही वर्षअघिसम्म अवस्था कति बिकराल थियो भने, एउटाले उपचार पाउन अर्कोको ज्यान जानुपथ्र्यो ।
अहिले गण्डकीमा १ सय ६८ वटा डायलासिस मेसिन तथा २ सय २४ जना डाक्टर र प्राविधिक रहेका मन्त्री पाठकले बताए । देशभर ४ हजार जना मृगौलापीडित डायलासिस गर्नुपर्ने अवस्थामा छन् भने तीमध्ये ३ हजार जनाको मृगौला फेर्नुपर्ने अवस्था छ । सरकारले अहिले डायलासिस सेवा निःशुल्क गरेको छ । तर, मृगौला फेर्न भने ठूलो रकम लाग्छ । नेपालमा आफन्तबाहेक अरुलाई मृगौला दान गर्न पाइँदैन । यही कानूनी अवरोधका कारण हुनेखानेहरुले भारत गएर मृगौला प्रत्यारोपण गर्ने गरेका छन् । गरीबहरु चाहिँ डाइलासिसकै भरमा रहेको मन्त्री पाठकले स्वीकारे । उनले कानूनमा सुृधार ल्याउन आफूले प्रधानमन्त्री र संघीय स्वास्थ्यमन्त्रीलाई भनेको पनि सुनाए ।
डायलासिस हैन, प्रत्यारोपण
मृगौला रोग विशेषज्ञ डा.क्लाराका अनुसार डायलासिस भनेको रोगको निदान हैन,बिरामीको बाँच्ने दिन बढाउने काममात्र हो ।
‘यो दिन थप्ने काम हो । मृगौलाले शरीरको फोहोर सफा गर्ने हो । डायलासिसले त्यही फोहोर सफा गर्छ । सुधार गर्दैन । अर्को २–४ दिन बचाउँछ । ट्रान्सप्लान्ट (फेरे) गरे शरीरले नयाँ मृगौला पाउँछ । तर, सबैमा नयाँले काम गर्दैन । कसैको एक वर्ष त कसैको ३० वर्ष पनि काम गर्छ । नयाँले काम गर्न पनि लक्की (भाग्यमानी) हुनुपर्छ । मृगौला रोग अरुजस्तो हैन । फोक्सोको रोग लागेमा स्याँस्याँ हुन्छ, जोर्नीको रोग लागे दुख्छ,’उृनले भनिन्,‘मृगौला रोग चाहिँ लुकेर बस्छ । बिग्रेपछिमात्र जानकारी हुन्छ । त्यो बेला केही गर्न सकिँदैन । उच्च रक्तचाप, मधुमेह, यो रोग हुने सम्भावना बढ्छ । रगत,पिसाब र भिडियो एक्सरेबाटमात्र यो रोगबारे थाहा पाउन सकिन्छ । त्यसैले वर्षको एकपटक मृगौला जाँच गराउनुपर्छ ।’
यसअघि कार्यक्रमको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले रोग लाग्नु अगाडि नै रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा समाजमा सचेतना गराउनु पर्ने आवश्यकता आंैल्याएका थिए । कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्देश्वर कर्माचार्यले आहार–विहार र जीवनशैलीका कारण रोग उत्पन्न हुने भएकाले रोग लाग्नबाट बच्नेबारे बेलैमा सोच्नुपर्ने सुझाव राखेका थिए ।
समाजका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेवाःखल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, परिवारको तर्फबाट माइकल कर्माचार्य, मृगौलापीडित छनोट समितिको तर्फबाट कल्याण कर्माचार्य, कर्माचार्य महिला समाजकी संयोजक रेखा कर्माचार्य र समाजका सचिव ईश्वरप्रसाद कर्माचार्यलगायतले आ– आफनो भनाइ राखेका थिए ।
यसैबीच कर्माचार्य समाज कास्कीको दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि पुन चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरप्रसाद कर्माचार्य र रेखा कर्माचार्य, सचिवमा कल्याण कर्माचार्य, कोषाध्यक्षमा विश्वप्रसाद कर्माचार्य र सह सचिवमा रमेशकुमार कर्माचार्यलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा सुशीला कर्माचार्य, केदार कर्माचार्य, सुनिल कर्माचार्य, निकेश प्रसाद कर्माचार्य, अम्वु कर्माचार्य, मानिका कर्माचार्य, सुसन कर्माचार्य र बसन्त कर्माचार्य रहेका छन् । सोही भेलाले डा. बालगोपाल कर्माचार्य, गोविन्दप्रसाद कर्माचार्य, हरीप्रसाद कर्माचार्य, निर्मलप्रसाद कर्माचार्य, प्रेमप्रसाद कर्माचार्य, भरतकुमार कर्माचार्य र शिवप्रसाद कर्माचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।





