पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १४ ले वृहत योग शिविरको आयोजना गर्ने भएको छ । वडाबासीलाई स्वस्थ राख्ने उदेश्यका साथ वडाले पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति, पतञ्जली युवा योग समिति र गीता जुम्बा क्लास कास्कीको सहयोगमा निशुल्क योग शिविरको आयोजना गर्न लागेको हो ।
योग शिविरबारेमा जानकारी दिदैँ वडा अध्यक्ष बोधबहादुर कार्कीले मानिसहरु संग जति सम्पत्ति भएपनि अस्वस्थ भएमा त्यसको केही अर्थ नभएको सुनाए । उनले योग गर्दा मानिसमा निरोगी हुने क्षमता आउने भएकाले हरेक नागरिकलाई स्वस्थ बनाउनका लागि योग शिविरको आयोजना गर्न लागेको सुनाए ।
‘हामीसंग जति धन सम्पत्ति भएपनि यदि रोगि भयौं भने त्यो सबै नाश हुन सक्छ । योगले मानिसलाई निरोगि बनाउछ योगले शरिरलाई धेरै फाइदा गर्ने गर्दछ त्यसैले योग गर्नु राम्रो कुरा हो र हामी हाम्रा वडावासीलाई हरेक दिन एक घण्टा भएपनि योग गर्न समय दियोस भन्ने चाहान्छौं’ उनले भने, ‘वास्तवमै योगले प्रतिरोध क्षमता बढाउछ, हाम्रा शरिरका विभिन्न भागहरुको व्यायम गराउन योगले मद्धत मिल्छ ।’
वडाले हाल विभिन्न २० स्थानमा योग समिति सञ्चालन गरेको छ । वडाकै सहयोगमा म्याट र योग प्रशिक्षक समेत उपलब्ध गराइएको छ । बृहत योग शिविर पाँच दिनसम्म शुक्रराज बलभद्र माविको खेल मैदानमा सञ्चालन हुनेछ । योग शिविर विहान साढे पाँच बजेदेखी सातबजेसम्म सञ्चालन हुनेछ । शिविरमा चार हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ भने छिमेकी वडाबासीलाई समेत योग शिविरमा सहभागि हुन वडा अध्यक्ष कार्कीले आग्रह गरे ।





