स्याङ्जा/स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको स्याङ्जा महोत्सवको तयारी पूरा भएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका १ मालेबगरमा यही फागुन ६ देखि १८ गतेसम्म सञ्चालन हुने सातौँ संस्करणको स्याङ्जा महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गुर्न हुने छ । २२० स्टल रहने महोत्सवको सबै स्टल बुकिङ भएको छ भने स्टल तथा बालउद्यान निर्माण अन्तिम भएको छ ।
महोत्सव स्थलमा माछा महोत्सवको रुपमा स्याङजा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी हुने छ ।
यहाँ राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी, हस्तकला प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (आमा एकल नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
महोत्सवमा अगुवा कृषक तथा कृषि विशेषज्ञ बीचको अन्तरक्रिया कार्यक्रम, पश्चिमाञ्चल क्षेत्रका विभिन्न ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलहरूको फोटो प्रदर्शनी, महोत्सवस्थलबाट पशुपंक्षी, अटोमोवाइलहरूको प्रदर्शनी तथा विशेष छुटसहित बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाइएको छ ।
महोत्सवमा सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी हुनेछ भने विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव टिकट आम्दानीको पाँच प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहनअन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा एक करोड एक लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९५ लाख बीस हजार खर्च भई पाँच लाख ८० हजार बचत हुने अनुमान गरिएको छ ।





