पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जलन (बर्न) कक्षमा उपचार गराइरहेका एक बिरामीले डाक्टर पियूष गिरीलाई सोधे, ‘के म पनि थप उपचारको लागि काठमाडौं जानुपर्ने हो ? भनेर सोध्नुभयो,’ डाक्टर पियूषले भने, ‘निको नै भइसकेको, आज (सोमबार) डिस्चार्ज हुने बिरामी हो ।’ डा. गिरीका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान (आम मान्छेको मुखमा झुण्डिएको गण्डकी अस्पताल) मा देशकै सबैभन्दा पुरानो जलन उपचार कक्ष रहेको छ । जहाँ डा. गिरी आफै विशेषज्ञको रुपमा कार्यरत छन् । त्यहाँ जलनको सबै प्रकारका उपचार हुन्छ ।
सन् १९८८ मा यो जलन उपचार (बर्न) युनिट स्थापना भएको हो । जहाँ आगोले पोलिएका बिरामी राख्नकै लागि ६० वटा बेड छुट्टयाइएको छ । जसमध्ये ७ वटा दैनिकजसो प्रयोगमा आउँछन् । डा. गिरीका अनुसार जलेका बिरामीको उपचार गर्नको लागि विशिष्ठ खालको तापक्रमयुक्त कोठा चाहिन्छ । अस्पतालमा अप्रेसनसहित त्यस्तो कोठाको पनि व्यवस्था रहेको छ । बहिरंग विभागबाट दिइने सामान्य उपचार त छँदैछ, दैनिक एउटाजस्तो भर्ना नै गर्नुपर्ने खालका बिरामी पनि आउने गरेको अनुभव डा. गिरीसँग रहेको छ । ‘युवा वा पौढको हकमा २० प्रतिशत र बच्च्चाहरुमा १० प्रतिशतभन्दा बढी जलेकोलाई सिरियस केस मानिन्छ,’ डा. गिरी भन्छन्, ‘हामीकहाँबाट वर्षमा एक सयभन्दा बढी गम्भीर खालकाले भर्ना भएरै उपचार लिइरहेका छन् । ६० प्रतिशत जलेको बिरामीलाई पनि हामीले निको बनाएका छौँ ।’ नेपाल सरकारले गण्डकी अस्पताललाई नेपाल सरकारले जलन उपचार केन्द्रको रुपमा नै स्थापित गरेको छ । जलन उपचारसम्बन्धी कार्यविधि २०८१ मा वीरसहित गण्डकी र हरेक प्रदेशमा जलन उपचार युनिट स्थापना गर्ने लक्ष्य लिइएको छ ।
के त्यसो भए मन्त्री र मेयरको पोखरामै उपचार सम्भव थियो त ?
सानो उपचारको लागि पनि काठमाडौं जानुपर्छ भन्ने भाष्य बदल्न सकिँदैनथ्यो र ? उत्तरमा डा. गिरीले भने, ‘आकस्मिक उपचार गर्न सकिन्थ्यो उहाँहरु यहाँ आउनुभएन । त्यो उहाँहरुको कुरा होला । आउनु भएन । सबै कुरा नहेरी म कसरी भन्न सक्छु र ? तर, फोटो हेर्दा, त्योभन्दा बढी जलन भएकाहरुको पनि यहाँ उपचार गरिएको छ । गरिराको हो । त्यो रेञ्जको उपचार भइरहेको छ ।’ उपचारको लागि मन्त्री र मेयरलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएपछि पोखरामा कुनै पनि रोगको उपचार रहेनछ कि क्या हो ? भन्ने प्रश्न पेचिलो बनेको छ । सामाजिक सञ्जालका विभिन्न खालका टिप्पणीहरु गरिएका छन् । कतिपय टिप्पणी राजनीतिक स्वार्थ प्रेरित छन् त केही चाहिँ स्वास्थ्य क्षेत्र सुधारसँग जोडिएका छन् । सामाजिक सञ्जालमा मुखरित भइरहने माछापुच्छे« गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष राम गुरुङबाट फेसबुकमा व्यक्त यो धारणाले पनि त्यहीं कुरा दर्साउँछ ।
उनले लेखेका छन्, ‘दुर्घटनाप्रति जनताको धारणा पनि अजिब छ । नेपाली कांग्रेसका बरिष्ठ नेता चन्द्र भण्डारी जलेर हस्पिटल भर्ना गर्दा सहानुभुति दिनेको लाइन थियो । ठिक वर्षदिन पछि पोखरा पर्यटन वर्ष घोषणाको उद्घाटन सत्रमा बेलुन पड्किएर देशका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुँदा जनताको सहानभूतिभन्दा गाली बढी देखियो । जनतासँग गरिएका प्रतिबद्धताहरु समयमा पूरा नगर्दा जनतामा निराशा र आक्रोश देखियो । जनताले हिजो जिताएर पठाएको जनप्रतिनिधिलाई छ्या भन्ने काम कुनै जनप्रतिनिधिले नगरम न । म त गामको मान्छे । उपचार गर्न पोखरा जान्छु । मेयर साप र मन्त्रीज्यू काठमाडौं पुग्नु भएछ । शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । बरु, पोखरामा नै पनि जलेकाहरुको पनि उपचार गर्ने स्वास्थ्य केन्द्र निर्माण र स्थापना गर्न पोखरा महानगरको विशेष पहल होस् । बरु, त्यसका लागि हाम्रो माछापुच्छ्रे गाउँपालिकाबाट पनि केही सहयोग गरौँला ।’
यस्तो प्रतिक्रिया देखेपछि गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक निराश नहुने कुरै भएन । उनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै मन्त्री र मेयरलाई उपचारको लागि काठमाडौं जान भनिएको अनुमान लगाए तर पोखरामा उपचार सम्भव थिएन भन्ने भाष्यलाई खारेज गरे । जलनको उपचार यहीँ सम्भव थियो, गण्डकीमा डा. पियूष गिरीसहितको विशेषज्ञ टिम छ । यहाँ छैन (उपचार) भन्ने कुरा नै गलत हो,’ उनले भने ।
ठूलाबडाका लागि गण्डकीका अस्पताल काम नलाग्ने हो त ?
उत्तरमा उनले भने, ‘यो खालको गलत सोचको विकास भएको छ । यहाँ सबै रोगको उपचार हुन्छ । तर, फेसनको रुपमा काठमाडौं जाने चलन छ । अलिकति दाम–पैसा हुने व्यक्तिहरु राजधानी केन्द्रीत हुने अवस्था देखिन्छ । यहाँ हरेक प्रकारका रोगको उपचार हुन्छ ।’
निजी अस्पतालहरुको संस्था अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेल पनि गण्डकी प्रदेशको राजधानी पोखरामा सबैजसो रोगको उपचार सम्भव भएको बताउँछन् । उनी कार्यकारी निर्देशक रहेको चरक मेमोरियल अस्पतालले पनि जलनको उपचार गर्दै आएको छ ।
‘यहाँ संचालित अस्पतालले उपचार गर्न सक्छन् । पोखरामै यो सेवा छ भन्ने जानकारी नहुँदा वा केन्द्रीकृत मानसिकताले त्यस्तो हुनसक्छ, ‘उनले भने, ‘यद्यपि, सर्जरी गरिरहँदा छालाको ट्रान्सप्लान्टको लागि यहाँ छाला बैंक छैन । त्यसको लागि छाला दान दिने व्यक्ति चाहिन्छ । उपचार त यहीँ हुन्छ ।’
विशिष्टीकृत सेवाको लागि एउटा केन्द्र
अफिन अध्यक्ष पोखरेल एउटै अस्पताल वा सहरले सबैखाले सेवा दिनुपर्छ भन्ने मान्यताको विरुद्धमा छन् । उनको भनाइमा विशेषज्ञसहितको विशेष उपचारको लागि ठूलो स्रोत र साधनको आवश्कयता पर्छ । एउटै अस्पतालले सबैखालका विशिष्टीकृत सेवा दिन्छु भन्दा लगानी र जनशक्ति पुग्दैन । त्यसैले अस्पतालहरुले आफूले आफूलाई विशिष्टीकृत गर्दै एउटा सेवामा केन्द्रीत गर्नुपर्छ । आकस्मिक र प्राथमिक उपचारपछि अन्यत्र पठाउने प्रबन्ध गर्नु सबैभन्दा बुद्धिमानी हुने उनको भनाइ छ ।
‘अस्पताल भनेको खुद्रा पसलजस्तो हैन । एउटै अस्पतालमा सबै खालका सेवा खोज्नु हुँदैन । अस्पतालले पनि सबै रोगका प्राथमिक उपचारको प्रबन्ध गर्ने र एउटा विषयमा विशिष्टीकृत हुने सोच बनाउनुपर्छ । हिजो भारतमा पनि अस्पतालहरु किराना पसलजस्ता थिए । अहिले त्यहाँ विशिष्टीकृत अस्पतालको अवधारणा आएको छ । हामीले पोखराको चरकलाई मुटु उपचारमा विशिष्टीकृत गराउँदै छौँ । यो सोचको विकास हुनुप¥यो,’ उनी भन्छन्, ‘तीन करोड जनसंख्या भएको देशले हरेक प्रदेश वा पालिकामा सबैखाले सेवा दिने अस्पताल बनाउन पर्दैन । स्रोत र साधनले पनि पुग्दैन । राज्यले बरु त्यस्ता अस्पतालमा पु¥याउने हेलिकोप्टर वा अन्य सेवामा छुट दिन सक्छ । यसले गर्दा जनशक्ति र स्रोत दुबैको व्यवस्थापन हुन्छ । नागरिकले उपचार पाउँछन् ।’
मिसनरीले सुरु गरेको पोखराको आधुनिक चिकित्सा
१९९० सालतिर पोखरामा वैद्यखाना खोलियो । वैद्यखानाले आयुर्वेदिक ओखती चलाउँथ्यो । असाध्य रोगको उपचार सम्भव थिएन । २००२ सालतिर पोखराकै रानीपौवामा आधुनिक सेवा दिने गरी वडाहाकिम धन समसेरले अर्को अस्पताल सुरु गराए । वैद्यखानामा गणेशलाल रञ्जित कम्पाउण्डरको रुपमा बिरामी हेर्थे । पछि काठमाडौंका दयावीर कंसाकारले पोखरामा एलोपेथिक उपचार पद्दतिमा टेकेर क्लिनिक खोले । २००६ सालतिर बागलुङका वैद्य मेखलाल वैद्यले पोखराको भैरवटोलमा वैद्यखाना खोले । मेखलालको औषधालयमा मान्छे झुम्मिन्थे ।
त्यही बेला सिकागो हिस्ट्री म्यूजियमका डाक्टर कार्ल इ मिलर बटौली हुँदै पोखरा र मुस्ताङसम्म पुगेर आधुनिक चिकित्सा पद्दति अनुसार विरामीको उपचारमा खटिएका थिए । उनले नै लेखेको ‘मेडिकल सर्वे अफ कालीगण्डकी एण्ड पोखरा भ्याली’ नामक लेखमा पोखरा बस्दा ८ सय ६६ जना विरामीको उपचार गरिएको उल्लेख छ । उता, नेपाल केही खुल्ला हुँदै थियो । अमेरिकी इसाइ मिसनसँग आवद्ध रहेका डाक्टरहरुले बटौली (बुटवल) मा उपचार सुरु गरिसकेका थिए । इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) को आधिकारिक वेवसाइटका अनुसार लिली र हिल्डाको नेतृत्वमा मिसनरीले २००९ सालमा पोखरका क्लिनिक खोलेर काम थालिसकेको थियो । २०१३ सालमा त्यही क्लिनिकलाई बढाएर यहाँको टुँडीखेलमा साइनिङ अस्पताल स्थापना गरियो ।
पोखराका रैथाने लेखक रवीन्द्र माकाजूका अनुसार २०१९ सालतिर साइनिङ अस्पताल नदीपुरको बुद्धबिहार अगाडि थियो । ‘२०१३ सालमा मात्रै सरेको हो । कान्छी डाक्टर्नी प्रसिद्ध थिइन् । २०१८– २०१९ सालतिर पोखरामा बसाइँसराइ बढ् यो,’ उनले भने, ‘२०४५ सालतिर गण्डकी अस्पतालमा विलय भएको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षा राज्यमन्त्री मीनबहादुर गुरुङद्धारा लिखित ‘मेरो जीवनमा बुद्धधर्म’ पुस्तकका अनुसार राणाकालमा पोखरामा उपचारको लागि सानो डिस्पेन्सरी मात्रै थियो । बर्खायाममा मान्छेहरु विरामी पर्थे तर उनीहरुको लागि आधुनिक उपचार गर्ने अस्पताल थिएन । धाँभीझाँक्री लगाएर, पात्लो दोबाटो चढाएर पनि निको भएन भने बिरामीहरु बजारका वैद्यहरुकहाँ आउँथे । वैद्यहरुले जडीबुटी पिसेर बनाएको गोली दिन्थे ।
‘गर्भास्थ आइमाईहरु प्रसव हुन सकेन भने त्यसको पत्ता लगाउनेको तथ्य काँचो वायू, देवी देवताको भाकल गरिन्थ्यो,’ उनले लेखेका छन् ‘धेरै मान्छेहरुको मृत्यु उपचार नपाएर हुन्थ्यो ।’ त्यो दुःख देखेका गुरुङले पोखरामा क्रिश्चियन मिसनरीले अस्पताल राख्ने जग्गा खोजेको थाहा पाए । उनीहरुलाई अस्पताल बनाउन दिँदा क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर रोकियो । उनले पोखराजस्तो ठाउँमा स्कूलजस्तै अस्पताल पनि चाहिन्छ भन्ने सोचे रे ! ‘पछि मैले ५० शैयाको अस्पताल राख्न पाऊँ भनेर स्वास्थ्यमन्त्री नरबहादुर गुृरुङलाई दिएँ र पुनः उनै मिसनरीहरुलाई दरखास्त दिन लगाएँ अनि प्रधानमन्त्री मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग मैले भनें ‘यदि कुनै सरकारी अस्पताल दिन सकिँदैन भने अस्थाथी साइनिङ अस्पतालको आदेश इजाजत दिनुहोस्,’ उनले लेखेका छन्, ‘जोड गरेपछि अस्पतालको आदेश भयो । पहिला रामघाट र पछि टुँडीखेलमा जग्गा प्राप्त भएपछि अस्पताल खोलियो, अस्पताल खोलेपछि गर्भास्थहरुको र रुखबाट लडी लंगडा र अपाङ्ग हुनेहरुको मुख्य उपचार र अरु उपचार सुरु भयो ।’
उनका अनुसार त्यो बेला साइनिङले सुरुमा २५ र पछि ५० पैसा शुल्क लिएर सेवा दिन्थ्यो । आधुनिक चिकित्सा पद्धति अनुसार विरामीको सेवा गर्ने साइनिङ अस्पतालले २०१३ सालतिर गोर्खाको आपपीपलदेखि मध्यपश्चिममा केही ठाउँमा पनि सेवा विस्तार ग¥यो । पछि मिसनरीले नै पोखराको नयाँगाउँमा हरियोखर्कमा कुष्ठरोगीको लागि मात्रै अस्पताल खोल्यो । अस्पतालले कुष्टरोगीहरुलाई विशेष सेवा प्रदान ग¥यो । अस्पताल अहिले पनि चलिरहेको छ ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार पोखरामा आधुनिक चिकित्सा पद्धति भित्रायाउनुमा साइनिङ अस्पतालको ठूलो योगदान छ । उनका अनुसार कान्छी डाक्टरको नामले चिनिएकी रुथ वाट्सनले लामो समयसम्म अस्पतालमा बसेर बिरामीको सेवा गरिन् । साइनिङ अस्पतालले करिब ७० रोपनी जग्गा चर्चेको थियो । त्यो जग्गा लामो कानूनी लडाइँपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएको छ । सो ठाउँमा अत्याधुनिक मुटु अस्पताल बनाउने भनिए पनि कामले गति लिन सकेको छैन ।
यता, भारतीय सेनाबाट रिटायर्ड मेजर वीरसिंह गुरुङले पोखरामा आधुनिक अस्पताल र स्कूलको सपना देखे । उनकै पहलमा पोखरा २०१३ साल चैत १३ गते पोखरामा सोल्जरबोर्ड स्कूल (हालको अमसिंह उच्च मावि र सोल्जरबोर्ड अस्पतालको नाममा गण्डकी अस्पतालको स्थापना भयो । कालान्तरमा त्यही अस्पताल जिल्ला र क्षेत्रीय अस्पतालमा रुपान्तरण गरियो । यो गण्डकीकै सुविधासम्पन्न अस्पताल हो । जहाँ सबैजसो रोगको उपचार हुन्छ । क्यान्सरको समेत उपचार सुरु गरिने भनिए पनि त्यसमा भने जटिलता देखिएको छ । अस्पतालमा क्यान्सरको उपचार गराउन आवश्यक पर्ने डाक्टरको दरबन्दी नै नभएकाले गण्डकी प्रदेश सरकाले भरतपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा यहाँका बिरामीहरुलाई त्यता पठाउने गरेको छ । प्रदेशका स्वास्थ्यमन्त्री पाठकका अनुसार क्यान्सर उपचारमा प्रदेश सरकाले एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।
छैन दक्ष जनशक्ति
मन्त्री पाठकले पोखरामा सबै रोगको उपचार सम्भव छ भने पनि जनशक्तिले भने पोखरालाई साथ दिएको छैन । डाक्टरहरु खुलेर बोल्दैनन् तर खासमा विशेषज्ञता हासिल गरेका डाक्टरहरु पोखरा बस्न रुचाउँदैनन् । अफिन अध्यक्ष कपिलको भनाइमा डाक्टरहरु दुईथरीका हुन्छन् । एकथरी अझै पढौँ÷पढाऊँ र विशेषज्ञता हासिल गरौँ भन्ने चाहन्छन् भने अर्काथरी अब मलाई अनुसन्धान गर्नु छैन, पेशाबाट आर्जन गरौँ भन्ने खालका हुन्छन् । आर्जन गर्न चाहनेहरु स्वभाविक रुपले बढी जनसंख्या भएको ठाउँतिर आँखा लगाउँछन् । त्यो भनेको काठमाडौं नै हो । पढ्न÷पढाउन र अनुसन्धान गर्न चाहनेहरुको रोजाइ पनि पोखरा हुनुपर्ने हो तर त्यस्तो पनि भएको छैन । यहाँ एमबीबीएस र एमडीको पढाइ हुन्छ । ‘पढ्ने, पढाउनेहरु पोखरा आउन सरकारी अस्पतालहरुमा सुधार हुनुपर्छ,सरकारी अस्पताल सुधार भयो भने,सुविधा प्राप्त भयो भने त्यो सम्भव छ,’ उनले भने, ‘धेरै बेड हुने सरकारी अस्पताल चल्दा निजी त यत्तिकै चल्छन् नि । दुई सय बेड भएको मेरो चरक पनि चल्छ । म त यत्तिकै बल्लेबल्ले हुन्छु नि ।’ आवासीय चिकित्सकहरुको सेवा÷सुविधाबारे सधैँ प्रश्न उठ्छ । गण्डकीमा झन यो समस्या चर्को छ । अस्पतालसँग स्रोत र





