बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा ४७ सय ५७ किशोरीले लगाए एचपिभी खोप

म्याग्दीमा ४७ सय ५७ किशोरीले लगाए एचपिभी खोप


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८१, शनिबार

म्याग्दी/जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमबाट जोगाउनका लागि विद्यालय केन्द्रित एचपीभी खोप अभियानमा ४७ सय ५७ जना किशोरीले खोप लगाएका छन् ।
जिल्लाको ६ वटै स्थानीय तहमा माघ २२ गते २९ गते सम्म कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ४७ सय ८४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएकोमा हालसम्म ९९ दशमलव ४३ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा खोप अभियानको तोकिएको अभियान सम्पन्न भएपनि फागुन महिनामा पनि छिटफुट किशोरीलाई खोप लगाइएकाले जनस्वास्थ्य अधिकृत एवम् खोप फोकल पर्सन राजेन्द्र सापकोटाले बताए । ‘खोप अभियान उत्साहजनक रुपमा सम्पन्न भएको छ, सतप्रतिशत लक्ष्य भेटाउन खोप केन्द्रमा लगाउन छुटेकालाई घरमै पुगेर लगाएका छौँ,’ फोप फोकल पर्सन सापकोटाले भने ।
म्याग्दीमा अन्य खोप अभियानको तुलनामा एचपिभी खोप लगाउने किशोरीको संख्या अधिक रहेको छ । म्याग्दीमा फागुनको पहिलो सातासम्म स्थानीय तहबाट प्राप्त तथ्याङ्कमा रघुगंगा, मंगला गाउँपालिकाका किशोरीले लक्ष्यभन्दा बढी एचपिभी खोप लगाएका छन् भने र अन्नपूर्ण गाउँपालिकाका किशोरीले सतप्रतिशत खोप लगाएका छन् ।
त्यसैगरी बेनी नगरपालिका, धवलागिरी र मालिका गाउँपालिका लक्ष्य नजिक छ । स्वास्थ्य कार्यालयका अनुसार धवलागिरी गापामा फागुन १ गते छुटेका २ जना किशोरीलाई खोप लगाइएको छ । विद्यालय बाहिर रहेका उमेर समुहका किशोरी छुटेमा सम्पर्क गर्न समेत समुदायस्तरमा अभियान सञ्चालन गरिएको छ ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सकिएपनि द्रुत सुलभ अनुगमन टोलीलाई सम्भावित छुटेका वा अन्य जिल्लामा गएको अनुमान गरिएकालाई खोजेर नै खोप लगाउने गरी परिचालन गरिएको जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए । कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा छुटेकाहरूको स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका सहितको टोलीले अनुगमन गरिरहेको जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले बताइन् ।
एपिभी खोप अभियान सञ्चालन गरिएकोमा अभियानलाई सफल पार्न खटिने स्वास्थ्यकर्मी, सहयोगी विद्यालयलगायत सबैलाई खोप जिल्ला समितिकी प्रमुख समेत रहेकी खत्रीले धन्यवाद दिइन् ।
म्याग्दीमा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको थियो । १० देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर भएकाले सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुने बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए ।
जिल्लाका स्थानीय तहबाट फर्किएको खोप जनस्वास्थ्य कार्यालय म्याग्दीमा तीन महिनासम्म राखिने भएकाले विश्व स्वास्थ्य संगठनले खटाएका स्वतन्त्र स्वयंमसेवक सहितको टोलीले समेत विभिन्न स्थानमा अनुगमनको क्रममा छुटेका किशोरी भेटिए खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->