बागलुङ/बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव तथा ३७ औं अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले रामचन्द्र शर्मालाई निर्विरोध अध्यक्षमा चयन समेत गरेको छ ।
अधिवेसन उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शिक्षाको बिकास नै समाज बिकासको आधार भएको बताए । उनले शिक्षामा गरिने लगानीले सयौंबर्ष सम्म पनि समाजलाई सही दिशामा डोहो¥याउने पनि बताए ।
मन्त्री पाठकले राणा र पंचायत कालमा शिक्षाको ज्योती फैलाउन बिद्यामन्दिर पुस्तकालयले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले त्यो बेलामा पुस्तकालय नखोलेको भए जिल्लामा शिक्षाको लहर आउन मुस्किल पर्ने समेत बताए । पुस्तकालयलाई अबका दिनमा डिजिटल प्रविधिमा लैजान पनि उनले सुझाव दिए । त्यसकालागि मन्त्री पाठकले साथ र सहयोग गर्ने प्रतिबद्दता पनि जनाए । सोही अबसरमा मन्त्री पाठकले पुस्तकालयले प्रकाशित गरेको झिल्को पत्रिकाको छैठौ अंक पनि बिमोचन गरेका थिए ।पुस्तकालयको इतिहास र वर्तमानका सामाग्री पत्रिकामा समावेश छ ।
अधिवेसनको अबसर पारेर पुस्तकालयले ओमप्रसाद–मेघकुमार सम्मानबाट समाजसेवी देवबहादुर श्रेष्ठलाई र हरिमोहन स्मृति सम्मानले पूर्व अध्यक्ष गंगा राजभण्डारी कसजुलाई सम्मान गरियो । त्यस्तै पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले आमाबाबुको स्मृतिमा स्थापना गरेको नन्दगंगा स्मृति छात्रवृत्ति कोषबाट गत बर्षको एसइइमा उत्कृष्ठ हुने छात्रा चिल्ड्रेन लाइफकी अपेक्षा श्रेष्ठ र रुद्रे पिपल मबिका किस्मत सुवेदीलाई प्रदान गरियो ।
कार्यक्रममा अक्षय कोष स्थापना गर्ने र आजिवन सदस्य सम्मान समेत गरिएको थियो । सोही अबसरमा पूर्व अध्यक्ष गंगा राजभण्डारी कसजुले पति बिनयको स्मृतिमा बिनय गंगा कसजु स्मृति कोषको रुपमा २ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षय कोष स्थापना गरेकी थिइन् । शिसिर हेमन्त स्मृति बाल पुरस्कार कोषका संस्थपक श्याम श्रेष्ठ सहित अन्य कोषका संस्थापकलाई पनि सम्मान गरियो ।
पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, सचिव राजनकुमार शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा संरक्षक परशुराम श्रेष्ठ, पूर्व अध्यक्ष गंगा राजभण्डारी कसजु, निर्वाचन अधिकृत इश्वर श्रेष्ठ, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ, बागलुङकी उपाध्यक्ष सिर्जना पन्त, हरिमोहन स्मृति सम्मान कोषका संरक्षक महेशचन्द्र प्रधान, नन्दगंगा स्मृति कोषका संस्थापकको तर्फबाट उपप्राध्यापक बिप्लव शर्मा, लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा सचिव राजनकुमार श्रेष्ठको प्रगती प्रतिवेदन र कोषाध्यक्ष कोपिला कंडेलको आर्थिक प्रतिवेदन पनि पास गरिएको थियो ।




