बागलुङ/बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गंभीर घाईते भएका जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ७ चोलाङका ७५ वर्षिय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नं. ५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेल मृत्यु भएको हो ।
बडिगाड गाउँपालिका वडा नं. ७ भिमगिठेबाट ग्रामिण सडक हुँदै खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । बे्रकफेल भई दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको प्रनाउ यादवले बताए । घटनामा घाईते अन्य चार जनाको भने बुर्तिबाङमै उपचार भईरहेको छ ।
दुर्घटनामा परी बडिगाड ९ बस्ने ६३ वर्षिया तेज कुमारी बुढाको अवस्था गंभीर रहेको छ । घाइतेको थप उपचारको लागि बुर्तिवाङ अस्प्तालले पोखरा रिफर गरेको छ । बुढाको टाउको र शरीरको भित्री भागमा गंभीर चोट लागेको छ । यस्तै बडिगाड ९ कै ५० वर्षिय निमसरा बुढा, ५२ वर्षिय यम कुमारी पौडेल, ३० वर्षिय सिता पौडेल, ६ वर्षिया पुर्णिमा पौडेल र ३ वर्षिया अंशु पौडेल दुर्घटनामा घाइते भएका छन् । घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी नायव निरीक्षक खगेश्वर अर्याल नेतृत्वको प्रहरी टोली र गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, वडाध्यक्ष र स्थानीयबासी उद्धार कार्यमा खटिएका थिए । दुर्घटनामा परी सामान्य अवस्थामा रहेका सवारी चालक बडिगाड गाउँपालिका वडा नं. ९ कै २३ वर्षिय हिमाल घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





