बागलङ/संसदको चालु हिउँदे अधिवेसनबाट विद्यालय शिक्षा ऐन जारी गराउन दबाव दिन नेपाल शिक्षक महासंघले काठमाण्डौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । त्यसका लागि महासंघले सबै पेशागत शिक्षक संगठनमा लागेका एक लाख बढी शिक्षकलाई फागुन २० गते काठमाण्डौं उतार्ने तयारी गरेको महासंघका अध्यक्ष लक्ष्मी किसोर सुवेदीले बताएका छन् ।
शुक्रबार नेपाल शिक्षक संघ बागलुङको ४३ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै सुवेदीले अग्रगामी ऐन ल्याएर देशभरका १७ थरी शिक्षकको समस्या समाधान गर्नुपर्ने आवस्यकता औल्याए । ‘अहिले पनि सत्रथरी शिक्षकलाई पालिकैपिच्छे बनेका ऐनले शासन गरिरहेका छन्, तर संघिय ऐन नआएर सरुवा, बढुवा र सेवासुविधामा शिक्षक बञ्चित छन्’ सुवेदीले भने, ‘शिक्षक आन्दोलनले नै ऐन ल्याउन दवाव दिनेछ ।’
२०२८ सालमा आएको संघिय शिक्षा ऐनले अहिलेसम्म पनि काम गर्न खोज्दा धेरै समस्या थपिएको उनले बताए । संविधान जारी भएपछि ६ महिनाभित्र आउनुपर्ने ऐन नआएपछि पालिका तहमा शिक्षाको व्यवस्थापन हुन नसकेको उनले बताए । यतिबेला शिक्षकलाई मात्र हैन, राज्यका हरेक निकायको सुदृढीकरणका लागि पनि ऐन चाहिएको उनको भनाइ छ । अग्रगामी ऐन ल्याएर विद्यालय शिक्षकका समस्याको समाधान गर्न अन्तिम चरणको आन्दोलन शुरु भएको पनि उनले बताए ।
‘सबै मुद्दा समेटेर ऐन ल्याउनका लागि महासंघले सरकारलाई दिएको २४ बुँदे सुझाव कार्यान्वयन हुनैपर्छ’ उनले भने, ‘अबको आन्दोलनले पनि ऐन आएन भने कहिले पनि आउने संभावना छैन ।’ उनले अबका दिनमा अस्थायी कोटा नराख्ने गरी ऐन ल्याउने, अस्थायी शिक्षकहरुको पनि बिदा संचित गर्ने, सामाजिक सुरक्षा कोषमा आाधारित पेन्सनको व्यवस्था, बाल विकासका शिक्षकको पनि प्राथमिक तह तृतिय श्रेणीको बराबर तलब हुनैपर्ने, योग्यता नपुगेका शिक्षक भए गोल्डेन ह्यान्सेक गरेर बिदाइ गर्ने काम छिटै गर्न महासंघले सुझाव पेश गरेको उनले बताए ।

गण्डकी प्रदेशसभाका सदस्य तथा कांग्रेस बागलुङ सभापति जितबहादुर शेरचनले शिक्षकहरुको मागप्रति गम्भिर बनेको भन्दै संघिय संसदमा पहल गर्न पार्टीको नेतृत्व तहमा छलफल चलाउने आश्वासन दिए । उनले शिक्षकहरुको योगदानलाई उच्च मूल्यांकन गर्न पनि पार्टीपंत्तिलाई आग्रह गरेका थिए ।
शिक्षक संघको प्रतिनिधि सभाले चालुवर्ष निवृत्त भएका ३८ जना शिक्षकलाई सम्मान समेत गरियो । साथै यो वर्षको एसएलसीमा उत्कृष्ठ हुने विद्यार्थी, बिभिन्न क्षेत्रमा योगदान गरेका शिक्षक र विभिन्न दुर्घटनामा परेका शिक्षकलाई मरणोपरान्त सम्मान पनि गरिएको थियो । नेपाल शिक्षक संघले १० वटै पालिकामा प्रतिनिधिसभा सम्मेलन गरेपछि प्रतिनिधिमूलक रुपमा जिल्ला सभा गरेको हो । जिल्ला सभामा ३ सय ५० बढी शिक्षक सहभािग थिए ।
नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता, सचिव लक्ष्मीकान्त शर्मा राजेन्द्रको संचालन र सहसचिव रेखा घर्ती बस्नेतको स्वागतमा सम्पन्न सम्मेलनमा पूर्व अध्यक्ष सागर खरेल, नारायण शर्मा पौडेल, नेपाली कांग्रेसकी सहसचिव ज्ञानु श्रीष, महासमिति सदस्य भीम श्रीष, शैक्षिक कल्याण कोषका अध्यक्ष विष्णुप्रसाद सापकोटा, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष इश्वर ठाकुर पौडेल, कांग्रेस महाधिवेसन प्रतिनिधि चिरन्जिवी गौतम, नेपाल भुपु सैनिक संघका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी, लगायतले सममेलनको शुभकामना व्यक्त गरेका थिए ।




