शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा

प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा


  • अर्जुन काफ्ले
  • फाल्गुन १७ २०८१, शनिबार

स्याङ्जा/वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा यहि फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ’आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको ७५ प्रतिशत तयारी पूरा भएको हो । महोत्सवको हालसम्मको कार्यप्रगती, गतिविधिको बारेमा जानकारी गराउनका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको चेम्बरले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले महोत्सव स्थलमा बार तथा स्टल निर्माण साथै मञ्च निर्माण र बालउद्यानका कामहरु अन्तिम चरणमा पुगेको बताए । वालिङ्को सभ्यता र यसको ऐतिहासिक महत्त्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने उद्देश्य साथै स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षाका साथ महोत्सवको आयोजना गरिएको न्यौपानेले बताए ।
नेपाल चेम्बर अफ कमर्स र वालिङ् चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा तथा विभिन्न संघसंगठनको सहयोग र सहभागितामा आयोजित महोत्सवबाट आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गर्ने संयोजक न्यौपानेले बताए । वालिङ्कको सभ्यता र यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै यस महोत्सव नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने संयोजक न्यौपानेले जानकारी दिए ।
संयोजक न्यौपानेले वालिङ् नगरपालिकाको समग्र आर्थिक तथा सामाजिक उत्थान, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायीक उत्पादन तथा निकासी योग्य वस्तुमा महोत्सवले जोड दिने बताए । उक्त महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने जमर्को गर्ने संस्थाका महासचिव गणेश राउतले जानकारी गराए । उनले महोत्सवले कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्न आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएको बताए ।
महोत्सवले प्रादेशिक रुपमा नयाँ प्रविधि तथा सिपको प्रदर्शनी तथा हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिका प्रचारप्रसार तथा बजारीकरण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजी गर्ने कुरामा महासचिव राउतले जोड दिएका थिए ।
महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न उद्योगबाट उत्पादित दैनिक उपभोग्य एवं खाद्यान्न सामान, कस्मेटिक तथा श्रृंगारका सामान, फेन्सी एवं कपडा, विद्युतीय उपकरणहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, बैंक तथा वित्तिय संस्था, हस्तकलाका सामान, अटोमोबाईल, स्टेशनरी, भान्छामा प्रयोग हुने मालसामान, छालाका जुत्ता तथा ज्याकेट, पशुपंक्षी एवं डेरीजन्य पदार्थ लगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलाप एवं यस प्रदेशका गतिविधिहरु प्रस्तुत गरिने राउतले बताए ।
महोत्सवमा स्थानीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नगर स्तरीय रत्यौली तथा भजन प्रतियोगिता, बृहत काव्य गोष्ठी, स्याङ्जा किड्स डान्स आइडल, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् । यस महोत्सवले समग्रमा वालिङ्कको आर्थिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने आयोजकको दाबी छ ।
उक्त महोत्सवमा कृषि क्षेत्रका समस्या र सम्भावना विषयक बहस अन्तरक्रिया तथा लागूऔषध नियन्त्रण सम्बन्धी बहस अन्तरक्रिया कार्यक्रम, विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ । महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ७० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस्तै, परिचयपत्रका आधारमा एकल महिला र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । २४० स्टल रहने यस महोत्सवमा दुई लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब पाँच करोड बराबरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ६६ लाख १५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ६० लाख खर्च भई ६ लाख १५ हजार बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->