बागलुङ/भव्य पक्कि भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताकै भरमा बनेका भवनको उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडक छ । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाबाट मात्रै विद्यालयले राम्रो आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन् । विद्यालयमा अभाव केही कुरामा नहोला । तर २३ जिल्लाका १३ सय २४ जना विद्यार्थीहरुले अध्ययन गर्ने बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा न त खेलमैदान पर्याप्त छ न त शौचालय ।
दक्षिण तर्फको भव्य भवनमा पाँचवटा सटर सार्वजनिक सूचना गरेर भाडामा लगाउन सकिने अवस्थामा छन् । तर विद्यालयले एउटा मात्रै सटर भाडामा दिएको छ । जसको मासिक भाडा दश हजार रुपियाँ आउँछ । ‘भाडाको रकम जे–जती उठ्छ त्यो सबै भवन बनाईदिएका दाताका नाममा वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रावृत्ति दिने गरिएको छ’ विद्यालयका प्रधानाध्यापक छबिरमण रेग्मीले भने, ‘विद्यालयका अन्य आर्थिक स्रोतहरुबाट नीजि स्रोतका शिक्षकहरुको तलबभत्ता लगायतमा खर्च हुन्छन् ।’
विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहत, पुर्व नवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारा जिल्लाका विद्यार्थीहरुले अध्यापन गर्दै आएका छन् । खुल्ला शिक्षा समेत चलिरहेको विद्यालयमा आधारभूततर्फ १६ जना र माध्यमिक तहमा ३९ जनाले अध्ययन गरिरहेका छन् ।
विसं १९९७ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भुकम्पमा पठनपाठन गराउनै नसकिने गरी ठाउँ ठाउँमा चर्कियो । जसोतसो दाताहरुको सहयोगमा विद्यालय अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ । २०७३ सालमा लगाईएको महायज्ञबाट संकलित ६ करोड २८ लाख रुपियाँबाट २८ कोठे पक्की भवन बनाईएको हो । ब्रिटिश वेलफेयरले १ करोड ३९ लाख रुपियाँ खर्चेर ८ कोठे भवन समेत निर्माण गरिदिएको छ । यस्तै, स्थानीय समाजसेवी श्रीजय श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, गणेशशंकर श्रेष्ठ र प्रविणशंकर श्रेष्ठले २८ लाख रुपियाँ खर्चेर तीनकाठे भवन निर्माण गरिदिएका छन् ।
भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पर्याप्य खेलमैदान र शौचालयको भने अभाव छ । झण्डै १४ सय विद्यार्थी र ९० जना शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय १३ ओटा मात्रै छन् । यति धेरै विद्यार्थीहरुले प्रयोग गर्ने शौचालय थोरै हुँदा सास्ती खेप्नुपरेको विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले दुखेसो पोखे । देख्दा स्रोत सम्पन्न देखिने विद्यालयभित्र दर्दनाक समस्याहरु झेल्नुपरेको उनको गुनासो छ । खाजा खाने समयमा एकैपटक धेरै विद्यार्थीले शौचालय प्रयोग गर्न लामो समय लाइनमा बस्नुपर्दा पढाई नै प्रभावित हुने गरेको छ । जग्गा अभावका कारण विद्यालय भवनको छतमा शौचालय बनाउन सकिने प्राविधिकहरुले सुझाए पनि आर्थिक अभाव हुँदा तत्काल शौचालय बनाउन नसकिएको रेग्मीले बताए ।
‘खेलमैदान अपर्याप्त र साँघुरो छ, विद्यार्थी संख्या धेरै छ, बालकक्षादेखि १२ कक्षासम्मका विद्यार्थी त्यहीं मैदानमा भर पर्दा बालबालिकालाई चोटपटक लाग्ने गरेका धेरै घटना छन्’ रेग्मीले भने, ‘बागलुङ बजारको जग्गा किन्न सक्ने अवस्था छैन, अतिरिक्त क्रियाकलाप आलोपालो गरेर संचालन गर्नुपर्ने बाध्यता छ ।’ नजिकमा रहेका जग्गा भाडा लिएर पर्याप्त खेलमैदान बनाउन सके विद्यार्थीहरु खुल्ला वातावरणमा स्वतन्त्र रुपमा खेल पाउने रेग्मीको भनाई छ । हिउँदमा धुलैधुलोले नजिकै रहेको चमेना गृहमा खाजा खाँदा हातले प्लेट छोपेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘वर्षामा मैदान हिलाम्य हुँदा बिहानको सभा समेत राम्रोसंग गर्न सकिएको छैन’ रेग्मीले भने ।
खेलमैदानको समस्या लिएर गण्डकी प्रदेशका अर्थ, पूर्वाधार, सामाजिक विकास मन्त्रालय धाए पनि कहिंकतैबाट सुनुवाई नभएको बताउँदै रेग्मीले भने, ‘विद्यालयको आन्तरिक स्रोतबाट मैदान व्यवस्थापन गर्ने बजेट छैन, प्रदेशदेखि संघीय मन्त्रालय धाउँदा आश्वासन मात्रै पाईयो, बजेट कहिंकतैबाट पाइएन ।’
विद्यालयले आफ्नो सेवा क्षेत्रभन्दा टाढाका विद्यार्थीलाई आवास र आवातजावतको व्यवस्था गर्न समेत सकिरहेको छैन । गरिब तथा विपन्न विद्यार्थीहरुका लागि सहयोग र छात्रवृत्तिको अभाव हुँदा विद्यालय छाड्ने समस्या पनि उत्तिकै छ । विद्यालयमा घेराबार नहुँदा गतवर्ष सुरक्षाका लागि जडान गरिएको सिसि क्यामेरा नै चोरी भएको थियो । घेराबार नहुँदा विद्यार्थीहरु भागेर जाने अवस्था र अर्काेतिर अनावश्यक व्यक्तिहरु प्रवेश गर्दा विद्यालय नै असुरक्षित बनेको रेग्मीले बताए । ‘तारबार नहुँदा विद्यालयका कतिपय महत्वपूर्ण सामग्रीहरु जोगाउन हामीलाई हम्मे–हम्मे परेको छ’ प्रअ रेग्मीले भने ।
शौचालयपछि विद्यालयले झेल्दै आएको अर्काे समस्या खानेपानीको हो । गर्मी याम लागेसंगै खानेपानीको कसरी जोहो गर्ने भन्ने विषयले विद्यालय प्रशासनलाई सधैं सताउने गरेको छ । युरोगार्डमार्फत खानेपानीको व्यवस्था गरेपनि त्यो पर्याप्त नभएपछि ३ नं. वडा कार्यालयको पहलमा रात्माटाबाट मूलको पानी आपुर्ति गर्ने तयारी गरिएको छ । हिउँदयाममा कम हुने मूलको पानीलाई ट्याङकी निर्माण गरी संकलन गर्ने लगायतका व्यवस्थापकीय काम गर्न भने बाँकी रहेको प्रअ रेग्मीले जानकारी दिए ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हरेक वर्ष शतप्रतिशत नतिजा दिँदै आएको विद्यालयले गत वर्षको १२ कक्षाको बोर्ड परीक्षामा विज्ञान संकायतर्फ साविक धौलागिरि अंचलमै प्रथम स्थान हासिल गर्न सफल भएको थियो । विसं २०८३ सम्म २ हजार विद्यार्थी संख्या पुर्याउने लक्ष्य लिएको विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराउने आन्तरिक स्रोतका शिक्षकको व्यवस्थापनमा आर्थिक समस्या समेत झेल्दै आएको छ । विद्यालयमा कक्षा १० सम्म अध्यापन गराउने राहत, करार र आन्तरिक स्रोतका शिक्षकको संख्या २० जना र उच्च मावितर्फ अध्यापन गराउने ४२ जना शिक्षकमध्ये तीन जना मात्रै स्थायी हुनुहुन्छ । ३९ जना शिक्षकलाई विद्यालयले आन्तरिक स्रोतबाट तलबको व्यवस्था गर्दै आएको छ ।




