पोखरा/ गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका–१६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० ले जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल अध्यक्ष रहने ब्यबस्था अनुसार अध्यक्ष पौडेल सहित समितिका सदस्यहरूको पदस्थापन गरिएको हो।
गठन आदेश अनुसार सम्बन्धित स्थानिय तह प्रमुख पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की , जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि सदस्य र अस्पताल ब्यबस्थापन समितिका सदस्य सचिबमा सोहि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रहने ब्यबस्था छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले समितिका अध्यक्ष र सदस्यलाई पदस्थापन गराएका थिए । उक्त अवसरमा मन्त्री पाठकले राजनीतिमा प्रतिस्पर्धा बिकासमा सहभागिताको अबधारणामा काम गर्न सबै पक्षलाई आव्हान गरे । स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरूको स्तरोन्नति सहित हर पक्षबाट सबल र सक्षम बनाउन प्रदेश सरकार प्राथमिकताका सहित नीति कार्यक्रम निर्माणमा लागेको उनले बताए । उनले प्रदेशमा बिशिष्टिकृत सेवा सहितका अस्पतालको निर्माणमा सरकार लाग्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सहज र सरल बनाउदै आम जनताको पहुँचमा रहने सेवाहरूको प्रबाहमा ध्यान पुर्याउन सबैको ध्यानाकर्षण पनि गराए ।
अस्पताल ब्यबस्थापन समितिका नबनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताललाई समुन्नत र सेवाहरूको सबलिकरणामा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको स्वस्थ गण्डकीबासी ,समृद्ध गण्डकी निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदाय लागि पर्न आग्रह गरे । पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति सहित अन्य भौतिक र प्राबिधिक बिकासमा महानगर कटिबद्धता सहित लागी पर्ने उल्लेख गरे । सो अबसरमा अस्पतालका पूर्ब अध्यक्ष समेत रहनुभएका पोखराका पूर्वमेयर तथा गण्डकी प्रदेश सभाका पूर्वसदस्य कृष्ण थापा गण्डकी प्रदेशका स्वास्थ्य सचिब डा.बिश्वबन्धु बगाले, अस्पताल ब्यबस्थापन समितिका पूर्वअध्यक्ष उषा बरूवाल, अस्पतालका ब्यबस्थापन समितिका सदस्य सचिब डा. धर्मदेब ढकाल सहितले मन्तव्य व्यक्त गरेका थिए । सो अबसरमा अस्पताल ब्यबस्थापन समितिका निबर्तमान समितिका पदाधिकारीहरूको बिदाइ समेत गरिएको थियो। कार्यक्रम सो अस्पताल ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।





