शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवग्रह मन्दिरमा ७७ लाखबढी भेटी संकलन

नवग्रह मन्दिरमा ७७ लाखबढी भेटी संकलन


  • अर्जुन काफ्ले
  • फाल्गुन २७ २०८१, मंगलबार

स्याङ्जा/नेपालकै पहलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख ६७ हजार ८७४ रुपैयाँ भेटी संकलन भएको छ । अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा धार्मिक महोत्सव गरिएको थियो ।
१४४ वर्षमा परेको महाकुम्भको समयमा गत फागुन ६ देखी १४ गतेसम्म सञ्चालन भएको धार्मिक महोत्सवमा सहयोग रसिदबाट ५० लाख चार हजार १२९ रुपैयाँ, बैंक क्युआरबाट नौ लाख पाँच हजार ३ सय ५ रुपैयाँ संकलन भएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिए ।
यस्तै दान पेटिकाबाट १६ लाख २६ हजार ६६५ रुपैयाँ तथा चामल, धान, आलू, आटा खाद्य सामाग्री बिक्रीबाट दुई लाख ३१ हजार ७ सय ७५ रुपैयाँ संकलन भएको हो । यहाँ भक्तजनले चढाएको भेटीमा ४ सय २८ केजी एक÷दुई रुपैयाँका सिक्का रहेको थियो ।
धार्मिक महोत्सवमा एक लाख २५ हजारभन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए भने महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो ।
१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।
पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रंग लगाइएको छ । नवग्रह मन्दिरसंगै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।
नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->