सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुद्रे पिपल माविमा ‘न प्रअ, न माविको दरबन्दी’

रुद्रे पिपल माविमा ‘न प्रअ, न माविको दरबन्दी’

नगरपालिकादेखि ५ मीनेटको दुरीमा रहेको यो विद्यालयले कहिले प्रअ पाउने हो भन्ने यकिन छैन । प्रअ मात्र हैन, मावि तहमा एकजना पनि दरबन्दीका शिक्षक छैनन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

बागलुङ/गत वर्षको एसईईमा जिल्ला टप गर्ने रुद्रे पिपलका विद्यार्थी जिल्लाका धेरै स्थानमा सम्मानित भैरहेका छन् । दश वर्ष भैसक्यो यो विद्यालयको नतिजा राम्रो छ । अहिले पनि यो विद्यालयमा ८६ जना विद्यार्थीले एसईई तयारी गरिरहेका छन् ।
कुल विद्यार्थी ४ सय ८० जना छन् । यतिधेरै विद्यार्थी पढ्ने रुद्रे पिपल मावि गत साउनदेखि प्रअविहिन छ । नगरपालिकादेखि ५ मीनेटको दुरीमा रहेको यो विद्यालयले कहिले प्रअ पाउने हो भन्ने यकिन छैन । प्रअ मात्र हैन, मावि तहमा एकजना पनि दरबन्दीका शिक्षक छैनन् ।
विद्यालयले निजी श्रोतको भरमा उत्कृष्ट नजिता निकाल्दै आएको छ । तर यतिबेला प्रअ अभावले व्यवस्थापन र शिक्षणमा पनि असर परिरहेको छ । तत्कालिन प्रधानाध्यापक राजेश श्रेष्ठले छाडेपछि यो विद्यालयले प्रअ नपाएको हो । निमित्त प्रअ सीता नेपाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा पटक पटक नगरपालिका धाइरहेका छन् तर शिक्षक पाउन सकेका छैनन् । पटक पटक धाउनुपर्दा नेपालीले पढाउन नपाएर विद्यार्थीको भविष्यमा असर पर्ने देखेपछि अहिले नियमित पढाउने काममा लागेकी छिन् ।
सहायक प्रअ नेपालीले नियमित कक्षामा पढाएर बैठक र अन्य काममा निस्कनै नपाएको गुनासो गरिन् । निस्कन नपाउँदा विद्यालयका कतिपय काममा असर परेको छ । व्यवस्थापन समितिले गत असारमा प्रअबाट हटाएको थियो । त्यसपछि बागलुङ नगरपालिकाले एक महिना खाली राखेर विद्यामन्दिर माविमा सरुवा गराएको छ । तर रुद्रे पिपलमा प्रअ भने पठाएको छैन ।
हाल यो विद्यालयमा मावि तहमा श्रेष्ठ मात्रै दरबन्दीका शिक्षक थिए । ४ सय ८० विद्यार्थी पढ्ने गरेकोमा नगरपालिकाको अनुदान कोटाका एक जना शिक्षक मात्रै छन् । अरु सबै विद्यालयले निजी श्रोतमा राखेको छ । कतिपय शिक्षक प्रावि दरबन्दीका भएर माविमा पढाउन बाध्य छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोराका अनुसार, अभिभावकले चन्दा दिएर १० जना निजी श्रोतका शिक्षक राखेका छन् । दरबन्दीका प्राथमिक शिक्षक मात्रै भएकोले मावि तहको पढाइमा असर परेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोराले पटक पटक नगरपालिकामा दरबन्दीको शिक्षक माग गर्न पुग्दा बेवास्ता भएको गुनासो गरे । ‘नगर शिक्षा समितिका पदाधिकारीहरु नै सामुदायिक विद्यालय सपार्ने पक्षमा छैनन’ बोहोराले भने, ‘वर्षौदेखि उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा एउटा शिक्षक दिन नसक्ने भन्ने होइन, यो नियत हो ।’ उनले मजदुरी गर्ने अभिभावकको श्रमबाट रकम जुटाएर विद्यालय संचालन भएको बताए ।
तत्कालिन प्रअ श्रेष्ठ सरुवा भएर गएपछि नगर शिक्षा शाखाले अर्को शिक्षकको खोजी नगरेको हो । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले चाहिए अनुसारको शिक्षक नपाएर पठाउन नसकेको बताए । ‘भएको शिक्षक हटाउनु भयो, अर्को पाईदैन’ उनले भने, ‘तत्काल संभावना नै छैन ।’ पोखरेलले अझै लामो समयसम्म शिक्षक पाउन नसक्ने बताए ।
श्रेष्ठ गणित शिक्षक हुन् । एसईई तयारी भैरहेको बेला गणित शिक्षक नभएर विद्यार्थी चिन्तित भएका छन् । यो विद्यालयमा पढ्ने विद्यार्थीहरु अधिकांस मालढुंगास्थित माझी बस्तीका मजदुरका बालबालिका हुन् । उनीहरु अहिले पनि दैनिक गाडी चढेर मात्र विद्यालय आउन बाध्य छन् । ‘दलीत र मजदुरका बालबालिकालाई छात्रवृत्ति दिन सकिएको छैन, शिक्षक नभएर उल्टै अभिभावकबाट आर्थिक सहयोग माग्न बाध्य छौं’ बोहोराले भने, ‘हामीले राम्रो परीक्षाफल निकालेको सजाय पाएका छौं ।’ नगरपालिकाका जनप्रतिनिधिले भन्दा पनि शिक्षा समितिले शिक्षक दिन रोकेको उनको टिप्पणी छ ।
पछिल्लो समय नगरपालिकाले राख्ने कार्यक्रम समेत संस्थागत विद्यालयमा गर्न थालेको शिक्षकले नै गुनासो गरेका छन् । नगर शिक्षा अधिकारी र जनप्रतिनिधिले सामुदायिक छाडेर संस्थागत विद्यालयमा कार्यक्रम गर्न पुग्ने गरेको समेत टिप्पणी गरे । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने त्यस्तो नभइ विषयगत शिक्षक पाउन नसकेकोले दरबन्दी पुरा नभएको बताए ।
हाल रुद्रे पिपलमा अध्यापन गराउनेमध्ये गणितका शिक्षक टिकाराम चालिसे प्रावि दरबन्दीका हुन् भने अंग्रेजी पढाउने बेदप्रसाद अवस्थी निजी श्रोतका हुन् । सामाजिक र अर्थशास्त्र पढाउने तारकराज पराजुली र अतिरिक्त गणित पढाउने टिकाराम चालिसे पनि निजी श्रोतका हुन् । नेपाली पढाउने देबी बिक प्रावि दरबन्दीकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->