पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बसेको नवौँ सभा बैठकले बजेट र कार्यक्रम स्वीकृत गरेको हो ।
बैठकमा गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिइएको छ । कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्यसेवालाई प्रभावकारी र सुशासनयुक्त रूपमा प्रदान गर्न निर्देशन दिएको पनि सचिवालयले जनाएको छ । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।





