बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अस्पताललाई ६० लाख घाटा, कर्मचारीले राखे ६ लाख, दाेषी कर्मचारीलाई कानुनी कारवाही अघि बढाइने

अस्पताललाई ६० लाख घाटा, कर्मचारीले राखे ६ लाख, दाेषी कर्मचारीलाई कानुनी कारवाही अघि बढाइने

स्वास्थ्य विमातर्फका बिरामीले तिरेको रकम फिर्ता प्रकरणमा ६ कर्मचारी मुख्य दोषी


  • लालप्रसाद शर्मा
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पुष्टी भएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको सार्वजनिक भएपछि प्रतिष्ठानले गठन गरेको छानविन समितिको प्रतिवेदनले ६ कर्मचारी मुख्य दोषी ठहर गरेको छ ।

शाखा अधिकृत सुशीलकुमार अर्यालको नेतृत्वमा गठित ३ सदस्यीय छानविन समितिको प्रतिवेदन अनुसार गत साउनदेखि यता स्वास्थ्य बिमा गरेका बिरामीबाट लिइएको १० प्रतिशत रकम काउन्टरका कर्मचारीले बिरामीलाई नै फिर्ता गरेको भन्दै आफै राख्ने गरेको भेटिएको हो । यसले अस्पताललाई ६० लाख रुपैयाँ घाटा भएको र कर्मचारीले त्यसको १० प्रतिशतले हुन आउने रकम ‘फिर्ता’ का नाममा आफै राखेका हुन । ६ मध्ये एक जना कर्मचारीले मात्रै अस्पताललाई ५१ लाख रुपैयाँ घाटा पुराएको प्रतिवेदनले औंल्याएको छ । छानविन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आइटी अफिसर दिपक केसी रहेका थिए । बिमाको सेवा नलिएको भन्दै रकम फिर्ताका नाममा कर्मचारीले अपचलन गर्दा अस्पतालले ९० प्रतिशत रकमको बिमा दाबी गर्न नपाउँदा घाटा ब्यहोर्नु परेको हो ।

अस्पतालका निर्देशक प्रा.डा भरतबहादुर खत्रीले ६ कर्मचारी दोषी देखिएको बताए । तर दोषी कर्मचारीको नाम र प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । दोषी कर्मचारीलाई आर्थिक कारोवारको जिम्मेवारीबाट हटाइएको छ । उनीहरु अस्पतालको सामाजिक सेवा इकाइको साझेदार संस्था आइएनएफबाट खटिएका सहजकर्ता हुन । इकाइमा १४ जना सहजकर्ता कार्यरत छन् ।

प्रतिवेदन कार्यान्वयन र दोषीलाई कानुनी कारवाही गरिने
यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनियमितता सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्दै दोषीमाथि कानुनी कारवाही अघि बढाइने निर्णय गरेको छ । प्रतिष्ठानका उपकुलपति, डीन र निर्देशक रहने कार्यकारी परिषद्को यही चैत १५ गते बसेको बैठकले कानुन अनुसार अघि बढ्ने निर्णय गरेको उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले बताए । ‘प्रतिवेदन कार्यान्वयन प्रक्रियामा गएका छौ’,  उपकुलपति क्षेत्रीले भने, ‘दोषीमाथि कानुनी कारवाही अघि बढाएका छौ ।’ छानविन समितिले यही चैत १ मा परिषद् समक्ष प्रतिवेदन बुझाएको थियो ।

अस्पतालका निर्देशक प्रा.डा. खत्रीले सुरुमा दोषीसंग रकम फिर्ता लिने पहल भइरहेको बताए । यस विषयमा थप कानुनी कारवाहीका लागि कास्की जिल्ला प्रशासन कार्यालयसंग आवस्यक समन्वय गरी अघि बढेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकिएको छ । अस्पतालले सरकारको नीति बमोजिम बिमा कार्यक्रममा को–पेमेन्ट सिस्टम लागू गरेको थियो । यो सिस्टममा उपचार गर्न आउने स्वास्थ्य विमातर्फका विरामीबाट सबै प्रकारका सेवामा १० प्रतिशत शुल्क लिने गरिन्छ । गत भदौबाट यस्तो रकम लिन थालिएको हो । तर अस्वभाविक रुपमा रकम फिर्ता भएको थाहा पाएपछि छानविन समिति गठन गरिएको हो । पहिला रकम नलिने बेला यो समस्या थिएन । जव बिरामीबाट १० प्रतिशत रकम लिन थालियो त्यसपछि काउन्टरको जिम्मा पनि सहजकर्तालाई दिइएको र अनियमितता पनि सुरु भएको थियो ।  यो अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->