चालु वर्ष नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख लागतमा चार कोठा थप गर्न लागिएको हो ।
बागलुङ/गलकोट नगर अस्पतालले सेवा थप्दै गएको छ । गत असोजमा शुरु भएको अपरेशन सेवा पछि फिजियोथेरापी सेवा पनि शुरु गर्न लागिएको हो । अपरेशन सेवा शुरु भएपछि गलकोट नगर अस्पतालले चालु वर्षको असोजदेखि फागुनसम्ममा १६ जनाको अपरेशन भएको छ । ५६ जना सुत्केरी भएका छन् ।
पछिल्लो दुइबर्षदेखि संचालित नगर अस्पतालले गत असोजबाट अपरेशन सेवा थालेको थियो । पालिकाले दक्ष चिकित्सक, दक्ष प्रसुतीकर्मी सहितको उपकरण र पूर्वाधार व्यवस्थापन गराएपछि छोटो समयमा यो सफलता मिलेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।
असोज १६ गते शुरु भएको सेवा शुरुभएपछि धेरेको चासो र विश्वास बढेको हो । अस्पतालले बर्षमा ३० हजार बढीको उपचार सेवा पनि दिएको छ । नगरपालिकाले पूर्वाधार निर्माणमा साथ दिएको थियो भने गण्डकी प्रदेश सरकारले सामाग्री खरिद, उपकरण तथा तालिम लगायतमा साथ दिएको हो । पूर्वाधार र सामाग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ गते मात्र अस्पताललाई अपरेशन सेवाको अनुमति दिएको थियो ।
अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउण्ड, ल्याब, ओपिडी, सुत्केरी सेवासहित पोष्टमार्टम सेवा समेत संचालनमा छ । त्यस बाहेक अस्पतालमा फिजियोथेरापी सेवा पनि संचालनको तयारी भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । गलकोट समाज युकेको सहयोगमा फिजियोथेरापी सेवा संचालनका लागि सहयोगको आश्वासन आएपछि अस्पतालले तयारी गरेको हो । त्यसका लागि आवस्यक कोठा व्यवस्थापन भैसकेको हो । अस्पतालभित्रै चिकित्सकहरुको आबास राखेर चौबिसै घण्टा सेवा दिने तयारी छ । चालु वर्ष नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख लागतमा चार कोठा थप गर्न लागिएको हो ।
गलकोट र ताराखोला मात्र नभइ बडिगाड र राजमार्गका अन्य बिरामीले पनि यहाँ सेवा पाएका छन् । दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामी यहाँ उपचार गर्न आउने गरेको अस्पतालको तथ्यांक छ ।
अस्पतालको सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको छ । यहाँ पोष्टमार्टम सेवा समेत शुरु भएपछि सदरमुकाम जाने झन्झट कम भएको स्थानीयले बताए । नगरप्रमुख भरत शर्मा गैरेले नीति र कार्यक्रममा जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भन्ने नारा बनाएका थिए । नगरपालिकाले स्वास्थ्यमा धेरै लगानी समेत गरेको छ । ‘नगरभित्रै अपरेशन सहितको सेवा दिने चाहना थियो, बल्ल पुरा भएको छ’ नगरप्रमुख गैरेले भने, ‘यो सेवालाई निरन्तरता दिनकालागि नगरपालिकाले निरन्तर लगानी बढाउने लक्ष्य राखेको छ ।’ अस्पताल व्यवस्थित बन्दा आम नागरिकको करोडौं खर्च बच्ने उनले बताए । नगर अस्पतालमा छुट्टै पोष्टमार्टम कक्ष र शवगृह समेत बनाइएको छ ।
पछिल्लो समय नगर अस्पतालमा आफ्नै चमेनागृह बनेर संचालनमा आएको छ । यो चमेनागृहले बिरामी र उनीहरुको परिवारलाईपनि राहत मिलेको छ । अस्पताललाई थप बिस्तार गर्न स्थानीयले जग्गाको व्यवस्थापन पनि गराएका छन् । थप जमिन व्यवस्थापन गरेर अस्पतालका आगामी योजना बनाएर संचालनमा ल्याउने वडा नं. ५ का अध्यक्ष पवन हमालले बताए ।





