पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार अपरान्ह सम्पन्न बैठकले रिक्त २ पदमा डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेलाई नियुक्त गरेको हो ।
आयोगका सदस्यद्वय नेपाल समाजवादी पार्टी नयाँशक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले सरकारकै दबाबमा चैत १७ मा राजीनामा दिएपछि पद रिक्त हुन पुगेको थियो ।
पर्वतको फलेबास घर भइ हाल नवलपुर बस्दै अाएका रिजाल एमालेको कोटाबाट सदस्यमा नियुक्त भएका हुन । समाज विज्ञान क्षेत्रमा क्रियाशील रिजाल गण्डकी प्रदेश सरकारले गठन गरेको कालीगण्डकीको सम्भाव्यता अध्ययन समितिको सदस्य थिए । यसैगरी कांग्रेस काेटामा परेकी पाेखरा लेखनाथकी लामिछाने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । उनी इन्टरनेसल रिलेसन र डिप्लोमेसीमा पिएचडी स्कलर हुन् ।





