सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चालु वर्षमै धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति : स्वास्थ्य मन्त्री पाठक

चालु वर्षमै धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति : स्वास्थ्य मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८१, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति चालु वर्षमै हुने बताएका छन् ।

ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम तथा तालिम केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको जानकारी दिए । जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अघि बढेकाले कानुन निर्माणपछि स्वास्थ्य क्षेत्र थप चुस्त बन्ने स्वास्थ्यमन्त्री पाठकले विश्वास व्यक्त गरे ।

नागरिकलाई गुणस्तरीय सेवा दिन अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोही अनुसार काम भईरहेको छ’ मन्त्री पाठकले भने, ‘पचासबाट एक सय शैयामा स्तरवृद्वि गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद्को निर्णयपछि मात्रै अस्पतालको स्तरोन्नतिसंगै नर्सिङ वा प्राविधिक शिक्षा पढाउने विषय टुंगो लाग्ने पाठकको भनाई थियो ।

बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको गण्डकी प्रदेश सरकारले बागलुङकै धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरंग सेवासहित २५ शैयाको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्ने तयारी गरिरहेको छ । अस्पतालहरुको स्तरवृद्विसंगै मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध गरिने पाठकले बताए ।

गण्डकी प्रदेश मातृशिशु मृत्युदरको क्षेत्रमा कमजोर रहेको स्वीकार्दै मन्त्री पाठकले ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम मातृशिशुको क्षेत्रमा कासेढुंगा सावित हुने दाबी गरे । तालिममा गण्डकी प्रदेशका बागलुङ, मुस्ताङ, स्याङ्जा, मनाङ, तनहुँ र नवलपरासीका ६ जना स्टार्फ नर्स र अनमी सहभागी छन् । तालिमपछि विशेषज्ञको रुपमा संवेदनशिल भएर कार्यक्षेत्रमा खटिन मन्त्री पाठकले सहभागीलाई आग्रह गरेका छन् ।

दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न तालिमको आवश्यक रहेको चर्चा गर्दै स्वास्थ्यको क्षेत्रमा गण्डकी प्रदेशलाई अब्बल बनाउने गरी काम गर्न स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई मन्त्री पाठकले निर्देशन दिएका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा जलन केन्द्रको स्थापना भईसकेको र ट्रमा सेन्टरको काम पनि छिट्टै हुने मन्त्री पाठकले आशा व्यक्त गरे ।

अस्पतालका प्रमुख डा. किरण तिवारीले गएको वर्ष १ लाखभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएको जानकारी दिँदै अस्पतालमा थपिँदै गएका सेवाले अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको बताए । उनले अस्पतालमा जलन केन्द्र संचालन आएको र हरि खड्का ट्रमा सेन्टरको काम शुरु गर्न स्वास्थ्य मन्त्रालयको साथ चाहिएको बताए ।

एक्काइस दिनसम्म चल्ने ग्रामिण प्रसूति भिडियो एक्सरे तालिममा डा. प्रविण घिमिरे, स्वास्थ्य मन्त्रालयका डा. राजिव रिजाल, धौलागिरि अस्पतालका नर्सिङ अधिकृत मिलन बरुवाल, आम्दा अस्पताल झापाकी नर्सिङ अधिकृत पुनम गौरोले सहजीकरण गर्ने छन् । तालिमपछि सहभागी कार्यरत स्वास्थ्य संस्थालाई अल्ट्रासाउन्ड सोनोग्राफी (युएसजि) उपकरण प्रदान गरिने प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->