काठमाडौं / नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष मनोनीत गरिएको हो’, पार्टी स्रोतले भने ।
यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । त्यतिवेला पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।
तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए । उनले दुई पटक उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।





