बागलुङ/नेपालमा स्वास्थ्य बीमा लागू भएको नौ वर्ष पुगेको छ । हुनेहरुले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यले थालिएको बीमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
विशेषगरी ५ जना सम्मको परिवारले ३ हजार ५ सय रुपियाँ तिरेर वर्षभरका लागि १ लाख रुपियाँ सम्मको औषधी उपचार निशुल्क गर्न पाउने व्यवस्थाका लागि बीमा अभियान थालिएको हो । यो अभियानले वर्षभरी उपचारमा धाउनुपर्ने, विपन्न नागरिक तथा दिर्घरोगीका लागि सहयोगी बन्दै आएको हो ।
२०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा शुरु भएको थियो । तत्कालिन सरकारले आम नागरिकलाई संविधानको मर्म अनुसार निशुल्क स्वास्थ्य सेवा दिने अभियानमा बीमा कार्यक्रम जोडेको थियो । पहिलो चरणमा इलाम, बागलुङ र कैलालीमा शुरु भएपछि हाल देशभर यो कार्यक्रम लागू भएको छ ।
बागलुङमा रहेका कुल जनसंख्या २ लाख ४९ हजार २ सय ११ जनामध्ये हालसम्म १ लाख ३४ हजार ६ सय ७३ जना अर्थात् ५४ प्रतिशत नागरिक स्वास्थ्य बीमामा बीमित भएको स्वास्थ्य बीमा बोर्ड बागलुङ कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै जिल्लाका ४३ हजार ३ सय ८१ घरधुरीमध्ये ६७ प्रतिशत घर बीमामा जोडिएका छन् ।
अझैपनि ठूलो संख्याका नागरिक बीमामा जोडिन सकेका छैनन् । यो अभियानमा जोड्नका लागि उपचारका लागि सेवा पाउने प्रथमबिन्दु टाढा भएको, सानो उपचारमा धेरै खर्च गर्न बाध्य भएको र बीमाको योजनामा समावेश भएकाहरुले पनि झन्झटका साथ सेवा पाउनु परेपछि धेरैले विश्वास गर्न नसकेको अवस्था छ ।
‘बीमा गरेको नागरिक उपचारमा आउँदा दोश्रो दर्जाको नागरिक जस्तो व्यवहार भोग्नुपरेको धेरै उदाहरण छन्’ स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, ‘राज्यको नीतिमा छिरेर गएको नागरिकलाई नै तल्लो स्तरको व्यवहार गर्दा यो बीमा प्रभावकारी नभएको हो ।’
त्यस्तै स्वास्थ्य बीमा बोर्डमा हरेक नागरिकले सूचीकृत भएझैं हरेक कर्मचारीको न्युनतम भएपनि तलब काटेर प्रभावकारी बनाउनुपर्ने सरोकारवालाको सुझाव छ । साथै, बीमा भनेपनि नचाहेको औषधी लिनका लागि दवाव गर्ने, बिरामी नै नभएको व्यक्तिले होल बडी परीक्षण भनेर खर्च गराउने चलन बढेको छ । अस्पतालमा पनि त्यस्ता प्रकारका बिरामी आइरहने भएकाले कतिपय स्वास्थयकर्मीले झन्झट व्यहोरेको हुन सक्ने चिकित्सकहरु बताउँछन् । यद्यपी यो अभियान सफल बनाउनुपर्ने धौलागिरि प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए । उनले बीमाको कारण नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको भन्दै शतप्रतिशत बीमामा जोडियो भने विभेददेखि अन्य झन्झट पनि अन्त्य हुने सुझाए ।
‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ नेपालमा नवौं स्वास्थ्य बीमा दिवश समेत मनाइएको छ । दिवशको अवसरमा बीमाका सफलताबारे धेरैले चासो समेत व्यक्त गरेका छन् । राज्यले व्ययभार बढी भयो भनेर रकम विनियोजन नगरेकोले बीमा भुक्तानीमा समस्या आएको चर्चाले नागरिकमा बीमा नविकरण गर्ने तथा नयाँ बिमीतलाई शंका उत्पन्न भएको नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले बताए ।
‘बीमाबारे आएका भ्रम यथार्थ हुन् भने राज्यले बेलैमा सम्बोधन गर्नुपर्छ’ थापाले भने, ‘केही कठिनाइ भएपनि बढी हल्लाहरुलाई निस्तेज पार्नुपर्छ ।’ बीमा बोर्डकै अनुसार पनि राज्यले बिनियोजन गरेको रकमभन्दा तीन गुणा भुक्तानी बाँकी छ । जसका कारण बीमा कार्यक्रम असफल हुने टिकाटिप्पणी आइरहेका छन् ।
बागलुङमा पनि नवौं स्वास्थ्य बीमा दिवश मनाइएको छ । सोमबार भएको दिवशमा सरोकारवालाले बीमालाई प्रभावकारी बनाएर नागरिकको घरघरमा लैजानुपर्ने धारणा राखेका थिए ।
स्वास्थ्यबीमा बोर्ड बागलुङका प्रमुख नारायण प्रसाद पौडेलको अध्यक्षता, राजु शर्माको संचालन र पवन कुँवरको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे, पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले शुभकामना दिए । कार्यक्रममा सरोकारवालाले बीमाको अवस्थाबारे अन्तरक्रिया पनि गरेका थिए ।





