आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जनताको जरासम्म फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन : अध्यक्ष ओली

जनताको जरासम्म फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन : अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८१, मंगलबार

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटन सत्रलाई मंगलवार सिरहा बजारमा सम्बोधन गर्दै देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे।

“हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ।”, प्रधानमन्त्री ओलीले भने, “मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ। मधेशका समस्या मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुरामा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेश प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु।”

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेका हातमा शासन नजाने र दिन नहुने बताए ।

“तपाईँहरु ढुक्क हुनुस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन। एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ”, उनले भने, “यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु। सरकार अहिले ढल्छ, भेर ढल्छ भन्नेहरु अब थाके। यो मजबुद सरकार हो।”

अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए । कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यसहित तथा अन्य पार्टीबाट समेत गरी करिब पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराए ।
उद्घाटनसत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेश प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको सहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->