सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नक्कली भिषाले विदेश जान नपाएपछि युवाहरु प्रहरीमा

नक्कली भिषाले विदेश जान नपाएपछि युवाहरु प्रहरीमा


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८१, बुधबार

बागलुङ/उनीहरुको योजना अनुसारको काम भैदिएको भए होटल म्यानेजमेन्ट पढेर सक्ने बेला भैसक्यो । त्यो पढाइपछि राम्रो रोजगारी पाइएला भन्ने थियो । तर, योजना अहिले बिचैमा तुहिएको छ । बरु ऋण खोजेको खर्च पनि डुवेको छ । जसका कारण थप पढाइ र रोजगारी पनि नपाएर उनीहरु निरास छन् ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानाका विशाल कार्की, म्याग्दीको बेनीका दिवान कार्की, बागलुङ नगरपालिका वडा नं. ३ का आयुष केसी, सावित्री नेपालीसहित ५ जना युवाले विदेश पढ्न जाने नाउँमा ४० लाख रुपैयाँ डुबाएका छन् ।

कक्षा १२ को परीक्षा उत्तिर्ण गरेपछि उनीहरुले दुवइको ‘गेटवे इन्स्टिच्युटमा’ राम्रो होटल म्यानेजमेन्ट पढ्न पाउने आसमा वेस्टवान कन्सल्टेनसीमार्फत कलेजलाई पैसा बुझाएका थिए । टिकट र भिषा आयो भन्दै खबर पाएपछि घरबाट हिंडेका युवा एयरपोर्टबाट फर्कन बाध्य भएका हुन् । ती युवाहरुले जनही ७ लाख ४० हजार रुपैयाँ शिक्षण शुल्क र जनही टिकटको लागि ७० हजारको दरले गरी ४० लाख रुपैयाँ बुझाएको बताए । उक्त रकम बुझाएको कागजात पनि छ ।

कलेजको खातामै जम्मा गरेर उडानका लागि भन्दै काठमाण्डौं गएका ती युवा गत माघ २ गते टिकट र भिसा नपाएर फर्केका हुन् । भिजा नमिलेपछि फर्केका युवाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रशासनले यो मुद्दा प्रहरीले हेर्ने भन्दै तोक लगाएको छ । तर प्रहरीको मुद्दा शाखामा पुगेर उक्त फाइल रोकिएको छ ।

उनीहरुले सुरक्षित आप्रवासन कार्यक्रम सामीमा पनि उजुरी गरेका छन् । सामीले रोजगारको मुद्दा मात्रै हेर्ने भएपछि प्रहरीमार्फत कलेजमा ठगी मुद्दा चलाउन प्रहरीमा पुगेको हो । यो विषयमा कलेजसँग जोड्ने वेस्टवान कन्सल्टेन्सी र कलेजका प्रतिनिधिले ढीलाई गरेको युवाहरुको छ । त्यसमा प्रहरीले अनुसन्धान थाल्न ढीला गर्दा थप पीडित बनेका हुन् ।

‘पहिला कन्सल्टेन्सीले उक्साएर छिटो पैसा जम्मा गर्न लगाए, अहिले ढीला गरिदिए’ पीडित युवा विशाल कार्कीले भने, ‘हामीले न पढ्न पायौं, न ऋण खोजेको पैसा फिर्ता पायौं ।’ यो विषयमा उनीहरुले सहजीकरण नगरीदिएको गुनासो गरे ।

घरबाट माला लगाएर हिंडेका ती युवा नक्कली भिजा पाएपछि यतिबेला निरास छन् । गत असोजमा वेस्टवान कन्सलटेन्सीमार्फत ती युवाले दुवइको गेटवे इन्स्टिच्युटको खातामा रकम जम्मा गरेका थिए । कलेज संचालक सफलता केसीले रकम बुझाएपछि बेवास्ता गरेको युवाहरुको आरोप छ । टेलिफोन सम्पर्कमा केसीले आँफू संचालक नभएको, बरु युवाहरुको रकम फिर्ताका लागि पहल गरिरहेको बताइन् । ‘हामीले पनि केही लगानी गरेर उनीहरुको पैसा फिर्ताका लागि पहल गरेका छौं’ केसीले भनिन्, ‘कुटनीतिक पहल गरेर रकम ल्याउनुपर्छ त्यसैले ढीला भयो ।’ उनले युवा ठगिनुमा आफ्नो दोष नभएको बताइन् ।

कन्सल्टेन्सीकी प्रतिनिधि प्रतिभा शर्माले कलेजबाट धोका भएको दाबी गरिन् । ‘हामीले सिधा सम्पर्क गराएको हो, तर पैसा उतै गएको थियो’ शर्माले भनिन्, ‘हामीले पैसा फिर्ताका लागि पहल गरिरहेका छौं ।’ उनले पनि भिजा नक्कली आउनुमा कलेजकै गल्ती भएको बताइन् ।

केसीले भने प्राविधिक कारणले समस्या आएको दाबी गरिन् । नक्कली भिजा कसरी आयो त्यो खोजी गर्ने र धेरैजसो रकम फिर्ता ल्याउने पहल भएको उनले बताइन् ।

जिल्ला प्रहरी प्रमुख ऋषिराम कंडेलले प्रशासनमार्फत पत्र आएको बताए । ‘के भैरहेको छ, म फलो गर्छु’ कंडेलले भने, ‘दुवइमा पढ्ने चलन नभएकोले शुरुमा कुरा पत्याउन पनि गाह्रो भएको हो ।’ कलेजको प्रतिनिधि कोही भए उनीहरुमार्फत तत्काल कारवाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->