बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका खराबी हटाउन आफु निरन्तर लागिपरेको बताएका छन् । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बडिगाड स्वास्थ्य चौकीमा शुरु भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धि दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पाठकले यस्तो बताएका हुन् ।
पाठकले पाठेघरको मुखको क्यान्सर चुनौतीको रुपमा देखापरेको हुँदा यसको न्यूनीकरणको लागि स्वास्थ्य मन्त्रालय गम्भीर भएको बताए । अहिले नेपालमा प्रत्येक दिन ६ जना पाठेघरको मुखको क्यान्सरका बिरामीहरु देखापरेको र ६ जनामध्ये ४ जनाको अकालमा ज्यान जाने गरेको मन्त्री पाठकको भनाई थियो ।
महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सके ८० देखि ९० प्रतिशतसम्म निको बनाउन सकिने मन्त्री पाठकले बताए । यो क्यान्सर मुख्यतया उमेर नपुगी बिबाह गरि लगातार बच्चा जन्माउने, अत्याधिक धूम्रपान र मध्यपान गर्ने साथै यौनांगहरुको सरसफाईमा ध्यान नदिने महिलाहरुमा देखिने गरेको पाठकको कथन थियो ।
गर्ववती आमाहरुको स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर लगाएतका महिलाहरुमा देखिने रोगहरुलाई क्रमिक रुपमा कमगर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अब दुर्गम क्षेत्रहरुका स्वास्थ्य चौकीहरुमा दक्ष जनशक्ति र उपकरणहरुको ब्यवस्थापन गर्दै ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम बिस्तार गर्न लागेको समेत पाठकले बताए ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले हालसम्म गण्डकी प्रदेशभित्र दुर्गम क्षेत्रका ७८ जना गर्ववती आमाहरुको हेलिकप्टर उद्धार गरेर ज्यान बचाएको उल्लेख गर्दै पाठकले बागलुङको पश्चिम क्षेत्रबाट मात्र २३ जना गर्ववती आमाहरुको हेलि उद्धार गरिएको जनाए ।
आफू स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्यमा नागरिक पहुँच स्थापित गर्ने, जनस्तरमा स्वास्थ्य सेवा पुर्याउन निरन्तर लागेको उनको भनाई थियो । मातृत्व जोगाउने अभियानमा कल्प ईम्पावर नेपालले देशब्यापी रुपमा उल्लेखनीय काम गरेकोमा धन्यवाद दिदै मन्त्री पाठले उक्त संस्थालाई गण्डकी प्रदेशमा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्न अनुरोध गरेका थिए ।
सो कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी र कल्प ईम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोईराला लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने संचालन २००५ की मिस नेपाल सुगारिका केसीले गरेकी थिईन ।





