बागलुङ/धौलागिरि प्रादेशक अस्पताल बागलुङमा ग्रामीण प्रसुती भिडियो एक्सरे तालिम साइट संचालनमा ल्याईएको छ । यो तालिम साइट गण्डकी प्रदेशकै पहिलो र देशभरमा तेस्रो हो । यसअघि झापाको आम्दा अस्पताल र बाँकेको भेरी अस्पतालमा ग्रामिण प्रसुती भिडियो एक्सरे तालिम साइट संचालनमा छन् ।
दक्ष स्वास्थ्यकर्मीको पहुँचबाट टाढा रहेका ग्रामिण क्षेत्रका महिलाहरुमा गर्भावस्थामा देखिने समस्याको समयमै पहिचान गर्न र निदान खोज्न ग्रामिण प्रसुती भिडियो एक्सरे तालिमले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । विकटमा कार्यरत स्किल्ड बर्थ एटेन्डेन्ट (एसबिए) तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिएपछि प्रसुती कार्यमा सहज हुने र मातृशिशु मृत्युदर कम गर्न टेवा पुग्ने धौलागिरि प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रविण घिमिरेले बताए ।
‘२१ दिने तालिम लिएपछि एसबिए नर्सिङ कर्मचारीहरुले भिडियो एक्सरेमार्फत बच्चा सुल्टो छ उत्टो छ, बच्चाको पेटमा पानीको मात्रा कस्तो छ र बच्चाको धड्कनको अवस्था पत्ता लगाउन लगाउन सक्छन्’ डा. घिमिरेले भने, ‘यसले डाक्टरको पहुँचबाट टाढा रहेका दुर्गमका गर्भवती महिलाहरुको समयमै जटिल समस्या पहिचान हुने र उपचारको खोजी हुँदा आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिने छ ।’
एसबिएले जटिल अवस्थाका गर्भवती पहिचान गरी व्यवस्थापन गर्ने र सो काम गर्न नसके रिफर गर्ने काम गर्दै आईरहेका छन् । महिलालाई गर्भावस्था, शिशु जन्मने बित्तिकै र सुत्केरी अवस्थामा सेवा प्रदान गर्ने एसबिएलाई तालिममा न्युनतम ज्ञानमार्फत भिडियो एक्सरे गर्न दक्ष बनाइने छ । ‘तालिमपछि उहाँहरु आफैले सुत्केरी आमाहरुको भिडियो एक्सरे गरेर बच्चाको अवस्था र सुत्केरी गराउन सहज हुन्छ हुँदैन, रिफर गर्नुपर्छ पर्दैन भनी पुर्वजानकारी लिन सक्षम हुने छन्’ अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले भने ।
गण्डकी प्रदेशका ग्रामिण क्षेत्रमा कार्यरत छ जना महिला स्वास्थ्यकर्मीहरुले पहिलो चरणमा २१ दिने तालिम लिइरहनुभएको छ । तालिममा बागलुङ, मुस्ताङ, नवलपरासी, स्याङ्जा, मनाङ र तनहुँ जिल्लाका बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स र अनमी सहभागि छन् । चालु आर्थिक वर्षमा धौलागिरि प्रादेशिक अस्प्तालमा तीन चरणमा तालिममा चल्ने प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेशमा मातृ मृत्युदर न्यूनिकरण गर्न र गर्भवती आमाको स्वास्थ्यमा सुधार ल्याउन तालिम साइट फलदायी हुने बताएका थिए । गण्डकी प्रदेशमा वर्षेनि १ सय ६१ आमाको ज्यान गाने गरेको हुँदा गाउँघरकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिएर मृत्युदर कम गर्न तालिम साइटको सुरुवात गरिएको पाठकको भनाई थियो ।
तालिममा डा. प्रविण घिमिरे, डा. राजिव रिजाल, नर्सिङ अधिकृतहरु मिलन बरुवाल र पुनम गौरोले सहजीकरण गरिरहेका छन् । तालिमपछि सहभागी कार्यरत स्वास्थ्य संस्थालाई अल्ट्रासाउन्ड सोनोग्राफी (युएसजि) उपकरण प्रदान गरिने केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।





