पोखरा/ नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा बुधबारदेखि सडक अवरुद्ध हुने भएको छ। आयोजना निर्देशनालयले सूचना जारी गर्दै चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बैशाख १ गतेदेखि १५ गतेसम्म राती ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो।
सडक अवरुद्ध हुने अवधिभर बुटवलतर्फ जाने सवारीसाधनहरूमध्ये बस, मिनिबस, माइक्रोबस र साना सवारी साधनहरू रोकिने स्थानको रूपमा होङ्सी सिमेन्ट गेट दुम्कीबास बजार खण्डलाई तोकिएको छ। नारायणगढतर्फ जाने सवारीसाधनहरूमध्ये बस, मिनिबस, माइक्रो बस, साना सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिन भनिएको छ । त्यस्तै, बुटवलतर्फ जाने सवारी साधनहरूमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई चोरमारा अरुणखोला बजार खण्डमा रोकिने क्षेत्र तोकिएको छ। नारायणगढतर्फ जाने सवारीसाधनहरूमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई ज्यामिरे हकुई खण्डमा रोक्नका लागि क्षेत्र तोकिएको छ।
यो आयोजनाअन्तर्गत सबैभन्दा कष्टपूर्ण यात्रा दाउन्ने क्षेत्रमा पर्ने गरेको छ। यस क्षेत्रको सडक अहिले पनि अस्तव्यस्त छ। धुलो र हिलोले गन्तव्यमा हिँडेका यात्रुहरूलाई चिन्न सकिँदैन। वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको सडककै कारण धेरै यातायात व्यवसायीका करोडौंका साधनहरूमा क्षति भएको छ।





