आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिवाईसी सहकारीको ‘बेलैमा ऋण तिरौं’ अभियान

सिवाईसी सहकारीको ‘बेलैमा ऋण तिरौं’ अभियान


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८१, बुधबार

बागलुङ/सहकारीले दिएको ऋण बेलैमा तिर्नुपर्छ भन्ने सन्देश दिन बागलुङस्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले जागरण अभियान चलाएको छ । भजनकृतन, पण्डितमार्फत सन्देश समेत दिइएको छ ।

धार्मिक परम्परामा अर्काको ऋण खानु हुदैन भन्ने सन्देशसहित भजनमार्फत पनि बेलैमा ऋण तिरौं भन्ने सन्देश दिइएको छ । मंगलबार सहकारीले आफ्नो सोह्रौं स्थापना दिवश तथा सहकारी दिवशको विशेष अवसर पारेर यो अभियान चलाएको हो ।

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संचालकले बचतकर्ताको १ अर्ब ५२ करोडसहित बैंकको ऋण लिएको रकम ठगी गरेपछि अन्य सहकारीप्रति पनि बचतकर्ताको संशय बढेको छ । देशभर शाखा रहेको शिव शिखर सहकारीले पनि ठगी गरेपछि रकम गुमाएका बचतकर्ताहरु सहकारीप्रति संशयमा परेको बेला सिवाईसीले भने जागरण अभियानमार्फत सहकारी सबल रहेको, कुनै अनियमितता नभएको पनि सन्देश दिएको हो ।

सहकारी दिवशको अवसरमा साता अघिदेखिनै जिल्ला सहकारी संघसहित अगुवा सहकारी संस्थाहरुले जागरण अभियान चलाइरहेका छन् । ‘हाम्रो सहकारीमा कुनै समस्या छैन, अनियमितता हुने अवस्था पनि छैन’ सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले भने, ‘लहैलहैमा लागेर ऋण तिर्न पर्दैन भन्नेहरु भने बढेका छन् ।’ केही व्यक्तिले ऋण नतिर्न उक्साउने काम गर्दा कतिपय ऋणिले ऋण नरितेको उनले बताए । बचतकर्ताको रकम हिनामिना नभएकोले ढुक्क भएर कारोवार गर्न उनले आग्रह गरे ।

चैत महिनामा मात्र सिवाइसीले ५ सय जना शेयर सदस्य थप गरेर ५ करोडबढी शेयर रकम समेत संकलन गरेको छ ।

उक्त अभियानमा सहश्रधारा दिव्यधामका पिठाधिस स्वामी नारायणचार्य, पंडित कृष्णप्रसाद पौडेल लगायतले ऋण खानुलाई गलत र अधर्मको संज्ञा दिए । उनीहरुले ऋणबाट उद्यम गर्न सकिने तर ऋण तिर्नुपर्ने मानवको दायित्व भएको बताए । धार्मिक मान्यता अनुसार ऋण नदिर्दा शाखासन्तानले पनि ऋणको भार बोक्नुपर्ने बताए ।

उक्त अवसरमा भजनको माध्यमबाट समेत ऋण तिर्ने सन्देश दिइयो । टेकबहादुर क्षेत्री संगमको नेतृत्वमा भजन मण्डली तथा विभिन्न आमा समूहले पनि गीत संगीत र भजनबाट ऋण तिर्नुपर्ने सन्देश दिए । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सहसचिव सुवास आचार्यको संचालन र उपाध्यक्ष सितादेवी सापकोटा कँडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, लगायतले पनि सहकारीलाई बलियो बनाएर उत्पादनमा लगानी गर्न सकिने बताए ।

सहकारीमा सबै शेयर सदस्यले समान भूमिका पाउने र नियमित बैठक र छलफल गर्ने हो भने अनियमितता नहुने, ठगीको अबस्था नआउने समेत बताए । पछिल्लो समय सहकारीमा ऋण नतिर्नेका लागि पनि कालोसूची राख्न पाउने कानूनले भाखा नाघेका ऋण उठाउन सहज बन्ने वातावरण आएको पनि बताए । सिवाईसीले २५ शाखा केन्द्रबाट २७ हजार शेयर सदस्य माझ कारोवार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->