बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकाले वडा अध्यक्षको निधनमा भोलि शुक्रबार शोक बिदा दिने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्रका सबै सरकारी कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
ताराखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत अवस्थामा भेटिनुभएको छ । काँक्राखोर निवासी भण्डारी घरदेखि ५० मीटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
बैठकले स्व. भण्डारीले आफ्नो कार्यकालमा जनप्रतिनिधिका रुपमा गाउँपालिकाप्रति पुर्याएको सेवा, सहयोग र सद्भावको स्मरण गर्दै शुक्रबार आकस्मिक सेवा बाहेकका स्वास्थ्य, शैक्षिक संस्था र पालिका अन्तर्गतका सार्वजनिक संस्थाहरुमा शोक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गैरेले जानकारी दिए ।






