बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीको विकट गाउँ धुस सडक सञ्जालसंग जोडिएको छ । जैमिनी ८ छिस्तीको केवैखानीदेखि मोटरबाटो निर्माण थालिएको तीन वर्षपछि धुस गाउँमा सडक पुगेको हो ।
कडा चट्टानको पहारै–पहराका कारण छिस्तीको केवैदेखि धुससम्मको जम्मा ७ किलोमिटर दुरीको सडक निर्माण गर्न तीन वर्ष लाग्यो । ‘धुस गाउँ नजिकैको भनभनेको पहरो छिचोल्नै लामो समय लाग्दा छोटो दुरीको सडक निर्माण गर्न धेरै समय लाग्यो’’ जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माले भने ।
तत्काल धुस गाउँसम्म सडकको पहुँच विस्तार भएपनि भित्ता काट्ने, पहिरोको जोखिम क्षेत्रमा ग्याबिन जाली चिन्ने, टेवा पर्खाल र नाली निर्माणको काम भने आगामी आर्थिक वर्ष बजेट विनियोजन गरेर सम्पन्न गरिने उप–प्रमुख शर्माले बताए । सडकको थप सुधार र धुस गाउँलाई फलाटे, बरेङ गाउँपालिका १ धुल्लुबास्कोटसंग जोड्ने नगरेको योजना छ ।
जैमिनी नगरपालिकाको १८ लाख र गण्डकी प्रदेश सरकारको ६० लाख गरी कुल ७८ लाख रुपियाँ बजेटबाट केवैखानी–धुस सडक निर्माण गरिएको हो । जैमिनीले दिगो सडकमार्फत भूगोलका हिसाबले दुर्गम र उत्पादनका हिसाबले महत्वपूर्ण बस्तीहरुमा सडक विस्तार गर्ने योजनालाई प्राथमिकता दिँदै आएको छ ।
विकट बस्तीमा सडक विस्तार भएपछि बिरामी हुँदा स्थानीयलाई समयमै स्वास्थ्य संस्थामा पुग्न र गाउँमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन सहज हुने केवैखानी–धुस सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर पुनले बताए । अधिकांश जनजाति समुदायको बसोबास रहेको धुस गाउँमा प्रशस्त रुपमा आलुको उत्पादन हुने गर्छ ।
‘‘अब खाएर बचेको आलु बजारमा पठाएर धेरथोर आम्दानी गर्ने सकिन्छ’’ पुनले भन्नुभयो । सिंचाई सुविधाले उर्वरभुमि रहेको धुसमा स्थानीय जातको आलुसंगै मौसमी तरकारी पनि प्रशस्तै उब्जाउ हुने पुनले बताए । घरमा उपभोग गरेर बढी भएको तरकारी पशुलाई खुवाउनु पथ्र्यो, अब संकलन गरेर बजार पठाउने पुनले योजना सुनाए ।
सडक सञ्जालबाट बिमुख धुस गाउँका बासिन्दा पालिका मुकाम कश्मिसेरा र बागलुङ बजार आउनु पर्दा एक घण्टाको ठाडो उकालो पैदल यात्रा गरेर राङखानीको डाँडाखानी आएर सवारी साधन चढ्नुपर्ने बाध्यता थियो । ‘‘अब दुख बिमार लाग्दा पनि समयमै स्वास्थ्य चौकी गएर उपचार गर्न पाउने आशा पलाएको छ’’ अध्यक्ष पुनले भने ।





