बागलुङ/आजदेखि विक्रम सम्वत् २०८२ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनको अत्याधिक चाप बढेपछि मन्दिर व्यवस्थापन समिति दुई लाइनबाट मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाएको छ ।
देशकै पवित्र धार्मिकस्थलका रुपमा परिचित बागलुङ कालिका मन्दिरमा बडादशैँं, चैतेदशैँ र नयाँ वर्षमा बेला विशेष मेला नै लाग्ने गरेको छ । भक्तजनलाई व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । आन्तरिकसंगै छिमेकी देश भारतदेखि पनि भाकल पूरा गर्नका लागि भक्तजन मन्दिर आउने क्रम बढेको अध्यक्ष खड्काले बताए ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीसंगीसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशभरबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन् । चैत्राष्टमी मेला सकिएपनि बागलुङ एकता क्लबको आयोजनामा सांगीतिक कार्यक्रम चलेकाले कालिका मन्दिर परिसर मेलामय बनेको छ ।
















