तस्बिर : सामाजिक सञ्जाल
बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
तमानखोलाको प्रशासनिक केन्द्र रहेको बोङ्गादोभान बजारदेखि भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप सोमबार दिउँसो साढे १२ बजे कटेरीमा दुर्घटना हुँदा दश जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए । जिपमा चालकसहित ११ जना सवार थिए ।
ग्रामिण सडकको उकालोमा जिपको ब्रेक फेल भई सडकमै पल्टिन गई दुर्घटना हुँदा जिपमा सवार चालकसहित ११ जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि ढोरपाटन नगरपालिको बुर्तिवाङ अस्पतालमा ल्याउँदै गरिएको डिएसपी यादवले जानकारी दिए । घाइतेहरुको अवस्था, नाम, ठेगाना भने खुल्नु बाँकी रहेको यादवको भनाई छ ।
जिप दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी बोङ्गादोभानका प्रहरी सहायक निरीक्षक सन्तराम श्रेष्ठ नेतृत्वको प्रहरी टोली र स्थानीयले घाइतेको उद्वार गरी उपचारको लागि बुर्तिवाङ अस्पताल पठाएको थिए ।





