पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीयता कार्यान्वयन र समग्र विकासमा देखिएका चुनौती सम्बोधन गर्न नयाँ वर्षले थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
“सबैले एक अर्काप्रति प्रेम, सहकार्य र सद्भावना बढाउने तथा उज्ज्वल भविष्यको निर्माण गर्ने सङ्कल्प गर्दै संवत् २०८१ मा हासिल गरेका उपलब्धिहरूलाई दिगो बनाउन र लक्ष्य प्राप्तिका लागि निरन्तर क्रियाशिल रहनुपर्छ”, मुख्यमन्त्री पाण्डेको सन्देशमा भनिएको छ ।
प्रदेश सरकार सुशासन प्रवर्द्धन गर्दै दिगो एवं समावेशी विकासमार्फत जनताका आकांक्षा पूरा गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न सम्पूर्ण प्रदेशवासीको साथ सहयोगको अपेक्षा गरेका छन् ।
गण्डकी प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकास र सेवा प्रवाहको क्षेत्रमा देखिएको प्रगति समग्र गण्डकी प्रदेशवासी, सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीको संयुक्त प्रयासको परिणाम भएको भन्दै उनले यो समन्वय, सहकार्य र साझेदारीलाई जीवन्त राख्दै गण्डकी प्रदेशलाई आत्मर्निभर, समुन्नत र जनउत्तरदायी बनाउने साझा सङ्कल्पमा प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिबद्वता व्यक्त गरे ।
आशा, अपेक्षा र उमङ्गको उत्सवका रुपमा लिइने नयाँ वर्षले सबैलाई सत्कर्ममा लाग्न र समाज विकासमा सकारात्मक भएर सोच्न प्रेरणा मिलोस् भन्ने उनले कामना गरेका छन् ।
मुख्मन्त्री पाण्डेको शुभकामना यस्तो छ ।
नयाँ वर्ष संवत् २०८२ सालको पावन अवसरमा गण्डकी प्रदेशवासी, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस सुअवसरमा हामी सबैले एक अर्का प्रति प्रेम, सहकार्य र सद्भावना बढाउने तथा उज्ज्वल भविष्यको निर्माण गर्ने संकल्प गर्दै संवत् २०८१ मा हासिल गरेका उपलब्धिहरुलाई दिगो बनाउन र लक्ष्य प्राप्तिका लागि निरन्तर क्रियाशिल रहनुपर्छ ।
प्रदेश सरकार सुशासन प्रवर्धन गर्दै दिगो एवं समावेशी विकास मार्फत जनताका आकांक्षा पुरा गर्न प्रयत्नशील छ । गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेश स् सुखी प्रदेशवासी” को संकल्प पुरा गर्न सम्पूर्ण प्रदेशवासीको साथ सहयोगको अपेक्षा गरेको छु ।
संघीयता कार्यान्वयन र समग्र विकासमा हाम्रा सामु देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न नयाँ वर्ष २०८२ ले हामीलाई थप हौसला प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
गण्डकी प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकास र सेवा प्रवाहको क्षेत्रमा देखिएको प्रगति समग्र गण्डकी प्रदेशवासी, सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीको संयुक्त प्रयासको परिणाम हो । यो समन्वय, सहकार्य र साझेदारीलाई जीवन्त राख्दै गण्डकी प्रदेशलाई आत्मर्निभर, समुन्नत र जनउत्तरदायी बनाउने साझा संकल्पमा प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिबद्वता व्यक्त गर्दछु ।
अन्त्यमा, आशा, अपेक्षा र उमङ्गको उत्सवका रुपमा लिईने नयाँ वर्षले सबैलाई सत्कर्ममा लाग्न र समाज विकासमा सकारात्मक भएर सोच्न प्रेरणा मिलोस् भन्ने कामना सहित नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद । जय नेपाल ।
वि.सं. २०८२ वैशाख १ गते, सोमबार ।





