बागलुङको तमानखोलामा जीप दुर्घटना हुँदा घाइते भएकाहरुको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ अस्पतालमा उपचार हुँदै । तस्बिर : लोकेन्द्र निराशी
बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ ।
दुर्घटनामा परी घाइते भएका दुई जनाको अवस्था गंभीर रहेको छ । गलकोट नगरपालिका वडा नं. १ की ३० वर्षिय मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. १३ का २३ वर्षिय नविन मल्लको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । विकको शरीरका विभिन्न भाग र मल्लको टाउकोमा गंभीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।
यस्तै, दुर्घटनामा परी घाईते हुनेहरुमा जुम्ला जिल्ला कन्का सुन्दरी गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षिय प्रेम रावल, रकुम पश्चिम बाँधिकोट गाउँपालिका वडा नं. ६ का ३२ वर्षिय सुदर्शन कुसारी, बागलुङको तमानखोला गाउँपालिका वडा नं. १ बस्ने २९ वर्षिय सचिन विक, सोही ठाउँकी ६३ वर्षिय इन्द्र कुमारी गिरी, ५२ वर्षिय मनसरी सेरचन, २५ वर्षिय बसन्ती बुढा मगर, १२ वर्षिय मनि मगर, चालक २७ वर्षिय सुशिल रसाइली, तमानखोला वडा नं. २ की २० वर्षिय झरना गिरी रहेका छन् ।
गंभीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले बताए । घाइतेहरुको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । मध्यम र सामान्य घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको डिएसपी यादवले जानकारी दिए ।
तमानखोलाको प्रशासनिक केन्द्र रहेको बोङ्गादोभान बजारदेखि भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप बे्रक फेल हुँदा सोमबार दिउँसो साढे १२ बजे कटेरीमा दुर्घटनामा परेको थियो । जिप दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी बोङ्गादोभानका प्रहरी सहायक निरीक्षक सन्तराम श्रेष्ठ नेतृत्वको प्रहरी टोली र स्थानीयले घाइतेको उद्वार गरी उपचारको लागि बुर्तिवाङ अस्पताल पठाएको थिए ।





