मध्यनेपाल (लमजुङ)/दुुरा सेवा समाजले खजे दुुरालाई राष्ट्रिय विभूतिको मान्यता दिन माग गरेको छ । दुुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुुरा जातिका अगुुवाहरुले खजे दुुराले दुुरा जातिका लागि मात्र नभइ राज्यका लागिसमेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् । घले राजाको शासनबाट आजित भएपछि खजे दुराको अगुवाइमा १५५० साल असार १५ गते कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रहह्मलाई लमजुङ ल्याएर राजा बनाएको इतिहास रहेको छ । यशोब्रह्म शाहकै खलकका एघारौं राजा पृथ्वीनारायण शाह हुन् । उनले नेपालको एकीकरण गरेका थिए । नेपालमा शाह वंशको स्थायित्व र एकीकरणमासमेत सघाएको दुरा जाति अहिले पनि अल्पसंख्यकको सूचीमा परेको छ । अल्पसंख्यक जनजातिमा दरिए पनि यो जातिले आफ्नो अस्तित्व र पहिचानको मुद्दा भने छाडेको छैन । त्यो कुरा मंगलबार लमजुुङको मध्यनेपाल नगरपालिका १० स्थित दुुरा जातिको वर्चस्व रहेको हाँडीखोलामा आयोजना भएको दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा पनि देखियो । वार्षिकोत्सवमा दुरा जातिका अगुवाहरुले आफ्नो इतिहास मेटचाउने प्रयत्न नगर्न चेतावनी पनि दिए ।

समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर दुुराले दुुरा समाज राज्यको तर्फबाट हेपिएको गुनासो गरे । समाजका अध्यक्ष सुरेश कुमार दुुराले १५५० सालदेखि दुुरा जाति नेपालमा रहेको सुनाए । इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुुपर्ने चाहिँ उनले स्वीकारे । आफूहरुको इतिहासलाई कसैले बङ्ग्याउन खोजे त्यो सह्य नहुने चेतावनी दिए । दुरा जातिको वार्षिकोत्सव समारोह मनाउँदै गर्दा नमनाए हुुँदैन भन्ने कुरा आएको र यो मनाउनै पर्ने पर्व भएको पनि उनको भनाइ थियो । उनले संस्थालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमासमेत गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुुब्बा गुरुङले खजेलाई राष्ट्रिय विभूति बनाउन सक्दो सहयोग गर्ने र तत्कालका लागि दुुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडोभाकाका सर्जक देउबहादुर दुुरालाई हुलाक टिकटमा राख्ने बताए । मन्त्री गुुरुङले दुुरा जातिको प्रवद्र्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गरे । राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुुरा भाषा बनाउनका लागि पहल गर्ने उनको भनाइ छ । यस्तो भएमा लोपोन्मुख दुरा भाषा र लिपिको विकास हुने उनको भनाइ थियो । उनले अल्पसंख्यक जातिका लागि नै संघीयता आएको जिकिर गर्दै कथित् राजावादीको पछि लाग्नु भनेको अल्पसंख्यकहरुको अधिकार खोसिनु भएको बताए ।

‘अल्पसंख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो ,राजावादीले होइन । त्यसैले राजाको पछि नलाग्नुहोला,’ उनले भने । आफ्नो अधिकारका लागि खोजेर मात्र नहुने र लोपोन्मुख अवस्थामा रहेको जातिको उत्थानका लागि स्वयम् सचेत भइ आर्थिक तथा सामाजिक समुन्नतिका लागिसमेत युुवाहरुलाई सुरक्षा निकाय, निजामति कर्मचारी बनाउन जोड दिए । हिजो पुुर्खाहरुले पेन्सन पाउन र ब्रिटिस आर्मीमा जानकै लागि दुराहरुले थर नै गुुरुङ लेखाउँदा आफ्नो मौलिक र वास्तविकता गुमेकोप्रति राज्य गम्भीर भएकाले त्यसतर्फ ध्यान दिँदै अब आफ्नै मुल जाति लेखाउन पाउने गरी व्यवस्था गर्न लागेको पनि मन्त्री गुरुङको भनाइ थियो ।
‘राज्यको पछि लागेरमात्रै हुँदैन । हामी पनि अब सक्षम हुन अत्यावश्यक छ । अधिकार खोज्नका लागि अब शिक्षित त हुनुपर्छ नै, त्यसका बाबजुत अब लोकसेवादेखि आर्मी पुलिससम्म हुनुपर्छ,’ उनले भने, ‘यसले राज्यका हरेक निकायमा हाम्रो सहभागिता जनाउँछ र हाम्रो जातिको प्रर्वद्धन गराउनसमेत मद्धत गर्छ । अहिले भाषाको विकास भइसकेको छ । अब पहिचानका लागि अघि बढौं ।’
कार्यक्रममा दुुरा समाज लमजुुङ अध्यक्ष बलबहादुुर दुुरा, काठमाडौंको अध्यक्ष किसान दुुरा, महिला समाज केन्द्रीय अध्यक्ष नरमाया दुुरा, नेकपा एमाले लमजुुङ उपाध्यक्ष जीतबहादुर गुुरुङ, समाजका सल्लाहकार देवबहादुु दुुरा, दुुरा विद्यार्थी समाज केन्द्रीय सचिव मुना दुुरालगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव प्रेम दुुराले गरेका थिए ।
विभिन्न व्यक्ति सम्मानित
सोही क्रममा समाजले विभिन्न व्यक्तिलाईसमेत सम्मान गरेको थियो । समाजमा सबैभन्दा ज्येष्ठ नागरिक एकबहादुर दुरा, पानमति दुरा र कमला दुरालाई सम्मान गरेका हो । यस्तै अनेनरी लेप्टन सुरज दुुरा, इन्सपेक्टर भरतबहादुर दुरा तथा स्नातकोत्तर उत्तीर्ण गर्ने विद्यार्थीहरु सुमित्रा दुरा, हेमा दुरा, हरिमाया दुरा, सुनिता दुरा र जुना दुरालाईसमेत सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।





